प्रदेश ५ का राजधानी छिट्टै घोषणा हुने प्रचण्डकाे बाेली


न्युज अफ नेपाल, बाँके । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले प्रदेश ५ का राजधानी छिट्टै घोषणा हुने बताएका छन्।

नेकपा बाँकेले मंगलबार नेपालगन्जस्थित पार्टी कार्यालयमा आयोजना गरेको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा उनले प्रदेश राजधानीको टुंगो लागिसकेको । घोषणा गर्न मात्र बाँकी रहेको जिकिर गरे । पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, मुख्यमन्त्री शंकर पोख्रेल, पार्टीका जिल्ला अध्यक्षलगायत प्रदेश सभासदको सहमतिमा प्रदेश राजधानीको टुंगो लगाएको उनले बताए ।

प्रचण्डले जनताको भावनाअनुसार अब छिट्टै प्रदेशको राजधानी घोषणा हुने बताए । उनले सबै जिल्लालाई पायक पर्ने ठाउँमा नै प्रदेश राजधानी तोकिने धारणा राखे। उनले भने– ‘कसैको भावनामा ठेस नपुग्नेगरि प्रदेश राजधानीको नाम र केन्द्र निर्धारण हुन्छ ।’ विकास भएको ठाउँलाई राजधानी आवश्यक नपर्ने जिकिर गर्दै अध्यक्ष दाहालले बाँके र बर्दियाका जनताको माग सम्बोधन हुनेगरि प्रदेश राजधानी टुंगो लाग्ने क्रममा रहेको स्पष्ट पारे।

अन्य ठाउँका विमानस्थलजस्तै नेपालगन्ज विमानस्थललाई पनि अन्तर्राष्ट्रिय विमानस्थल बनाइनु पर्ने धारणा राखे। उनले नेपालगन्ज पश्चिम नेपालको आर्थिक केन्द्र भएको बताउँदै उनले नेपालगन्जलाई घाटा हुन नदिनेगरि सरकारले योजना बनाउने आश्वासन दिए। उनले हिल्सा(जमुनहा सडकले नेपालगन्जको विकासमा थप टेवा पुर्‍याउने बताए।

कर्णाली प्रदेशसँगै नेपालगन्जको विकासमा टेवा पुर्‍याउन चीन सरकारसँग हिल्सा–जमुनहा सडक निर्माणका लागि सहमति गरेको बताए। यसैबीच, प्रेस संगठन, बाँकेले नेपालगन्ज विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री दाहालले संवैधानिक व्यवस्थालाई टेकेर प्रदेश प्रमुखको नियुक्ति भएको बताए।