पिको हाईड्रोबाट १७ किलोवाट बिजुली उत्पादन, ४९ घरधुरी लाभान्वित

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

काभ्रेपलाञ्चोक र मकवानपुर जिल्लाको विकट क्षेत्रमा पिको हाईड्रोबाट १७ किलोवाट विजुली निकालिएको छ । दुई गाउँपालिकाका १ सय ४९ घर धुरी उक्त विजुलीको सेवाबाट लाभान्वित भएका छन् ।

विद्युत्त प्राधिकरणको केन्द्रिय प्रसारण लाईन नपुगेको काभ्रेपलाञ्चोक जिल्लाको खानिखोला गाउँपालिका वडा नम्वर ६ स्थित नारायणखोला पिको हाईड्रो विद्युत्तिकरण आयोजना उपभोक्ता समितिले ७.५ किलोवाट र मकवानपुर जिल्लाको राक्सिराङ्ग गाउँपालिका वडा नम्वर ६ मा रहेको डिङना खोला पिको हाईड्रो उपभोक्ता समितिबाट ९.६ किलोवाट विजुली उत्पादन गरेको छ ।

खानिखोला गाउँपालिकाका ५३ घर धुरी र राक्सिराङ्ग गाउँपालिकाका ९६ घर धुरी उक्त आयोजनाबाट लाभान्वित भएका छन् । साईमन्पु फाउण्डेशन र इको इनर्जि फिनल्याण्डको आर्थिक सहयोग, ग्रामिण प्रविधि केन्द्र ललितपुरको प्राविधिक सहयोग, घट्टधनी संघ काभ्रेको सामाजिक सहयोगबाट उक्त परियोजना सम्पन्न भएको हो । परियोजना सम्पन्न भएपछि स्थानीयहरुले विजुलीको माध्यमबाट वातावरणमैत्री सुधारिएको घट्ट, कुखुरापालन, सिलाई ब्यवसाय, अन्य उत्पादन र आयमुलक कार्य शुरु गरेका छन् ।

२०१८ जुलाईबाट शुरु भएको उक्त आयोजना २०१९ को सेप्टेम्वरमा सम्पन्न भएको थियो । सामुदायिक विद्युत्तिकरण र लघु उद्यम विकास मार्फत स्वच्छ उर्जा पहुँच र दिगो विकास सहित ग्रामिण जनजीवन सुधारका लागि उक्त परियोजना महत्वपूर्ण भएको ग्रामिण प्रविधि केन्द्रका बरिष्ठ निर्देशक डा. पुरुषोतम श्रेष्ठले बताउनु भयो । प्रति किलोवाट ३ लाख रुपैया खर्च भएको उक्त परियोजनाका लागि सभासद् रामहरी सुवेदीको विकास कोष मार्फत १० लाख रुपैया आर्थिक सहयोग उपलब्ध गराईएको थियो । खानिखोलामा सम्पन्न परियोजनाका लागि २२ लाख ८७ हजार खर्च भएकोमा १० लाख र प्राविधिक सहयोग परियोजनाका तर्फबाट उपलब्ध गराईएको उपभोक्ता समितिका अध्यक्ष चन्द्रबहादुर थोकरले जानकारी दिनु भयो । ‘परियोजना कारण स्थानीयहरुले आय आर्जनका ब्यवसायहरु फर्निचर तथा अन्य ब्यवसायीक कार्य गर्न सहज भएको छ’–अध्यक्ष थोकरले भन्नु भयो ।

परियोजना समापन कार्यक्रमा संविधान सभा सदस्य रामहरी सुवेदी, खानिखोला गाउँपालिका अध्यक्ष कृष्णबहादुर खुलाल, उपाध्यक्ष रुकमणी गुरुङ्ग, नेकपा नेता शेखर लामा, केशव बडाल, उपभोक्ता समितिका अध्यक्षहरु चन्द्रबहादुर थोकर, डम्बर तिमल्सिना, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना, घट्टधनी संघ काभ्रेका अध्यक्ष शिवशरण श्रेष्ठ, सचिव रामहरी श्रेष्ठ, ग्रामिण प्रविधि केन्द्रका सन्तोष मण्डल र सानुबाबु पण्डित, बनेपा नगरपालिकाका सामाजिक विकास शाखा अधिकृत चिरञ्जिीवी अर्याल, ग्रामिण प्रविधि केन्द्रकी टिम लिडर शोभना महर्जन लगायतले पिको हाईड्रो समुदायमा आधारित भएकाले समुदायको हितमा कार्य गर्न सहज भएको बताउनु भएको थियो ।

 

घट्टधनी संघ काभ्रेले जिल्लामा रहेको १ हजार १ सय २० पानी घट्ट मध्ये ९ सय २० वटालाई सुधार गरिएको अध्यक्ष शिवशरण श्रेष्ठले बताउनु भयो । जसमध्ये ४० वटा घट्टबाट विजुली उत्पादन भएको छ भने १ सय ३५ वटा घट्टबाट परिप्रयोग गरिएको छ । जिल्लाका महाभारत र खानीखोला गाउँपालिकामा विद्युत्त प्राधिकरणको केन्द्रिय प्रसारण लाईनका लागि झण्डै १ अर्ब रुपैयाको लागतमा केहि महिना अघि मात्रै ठेक्का लगाईएको छ ।