नर्वेजियन मन्त्री र धुलिखेलका नगर प्रमुख बीच भेटघाट

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

नर्वे सरकारले नेपालमा प्रदेश र स्थानीय सरकार सवलीकरण र लैगिंक समानता कार्यक्रम मार्फत नेपालका ७ वटै प्रदेशका स्थानीय तहहरुमा गरिने सहयोगका बारेमा नर्बेजियन विकास मन्त्री डाग इन्ज उल्टनको टिमले जानकारी लिएको छ ।

स्थानीय सरकारहरु मध्ये धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु सहितको टिमसँग भेटघाट गरेको हो । नेपालमा स्थानीय सरकार सवलीकरण र लैगिंक समानतामा काम गर्ने गरी भएको सम्झौता कार्यान्वयनमा स्थानीय सरकारहरुले कसरी भूमिका खेल्न सक्छन ? स्थानीय सरकारको अवस्था कस्तो छ ? आवश्यकता के के छन् ? विकास मन्त्रीको टोलीले नगर प्रमुख अशोक ब्याञ्जु सहितको टोलीसँग छलफल गरेको थियो । सोमबार अर्थमन्त्री डा.युवराज खतिवडा र नर्वेजियन विकास मन्त्री डाग इन्ज उल्टन बीच उक्त कार्यक्रमका लागि १७ करोड डलर रुपैया उपलब्ध गराउने सम्झौता भएको थियो ।

छलफलका क्रममा मन्त्रीले नेपालमा संघियताको कार्यान्वयनमा स्थानीय सरकारको भूमिका, महिलाहरुको अवस्था र लैगिंक समानतामा खेल्न सक्ने भूमिकाका बारेमा जिज्ञासा राख्नु भएको थियो । मन्त्रीसँगै राजदुत लास्से जोर्न जोहानेसेले स्थानीय सरकारमा सवलीकरण र लैगिंक समानताका बारेमा चासो ब्यक्त गर्नु भएको थियो । मन्त्री र राजदुतको जिज्ञासामा स्थानीय सरकारका सम्वन्धमा नगर प्रमुख अशोक ब्याञ्जुले शशक्तिकरण र समावेशीकरणका बारेमा जानकारी गराउनु भएको थियो ।

जनप्रतिनिधिका रुपमा महिला, दलित, सिमान्तकृत समुदायको सहभागिता र समावेशिताका आधारमा संचालन भएका कार्यक्रमहरु, आय आर्जन मार्फत भएका आत्मनिर्भरका क्षेत्रहरुका बारेमा जानकारी गराउनु भएको थियो । ४० प्रतिशत महिलाहरुको सहभागिताले स्थानीय सरकारमा भएको सकारात्मक अभ्यासका बारेमा नगर प्रमुख ब्याञ्जु सहित महिला जनप्रतिनिधिहरुले जानकारी गराउनु भएको थियो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुईटेल, शाखा अधिकृतहरु, वडा अध्यक्षहरु पुष्प राउत, विष्णु धिताल लगायतको सहभागिता रहेको थियो ।

छलफलका क्रममा स्थानीय सरकारको पारदर्शिता, जवाफदेहिता, शुुसासनका लागि भएका अभ्यासहरुका बारेमा अन्र्तक्रिया भएको थियो । २०७२ सालमा जारी भएको संविधानले गरेका ब्यवस्था र लोकतान्त्रिक संघीयता अनुसार बनेका प्रदेश र स्थानीय सरकारहरुले नागरिकलाई दिने अधिकारका बारेमा पनि टोलीले जानकारी लिएको थियो । नर्वेजियन विकास मन्त्रीको टोलीले नमोबुद्ध नगरपालिकामा रहेको नमुना विद्यालय संसारीदेवी निमावीमा पुगी त्यहाँको अवस्था र शिक्षाका बारेमा बुझेको थियो । नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिना सहित विद्यालयका प्रधानाध्यापक, अभिभावकहरुले शिक्षाको अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो ।

उक्त टोलीले धुलिखेलमा रहेको काठमाडौ विश्वविद्यालयमा पुगी विश्वविद्यालयमा नर्वेजियन सरकारको सहयोगमा संचालित परियोजनाका बारेमा जानकारी लिएको थियो । विश्वविद्यालयमा दर्जन भन्दा धेरै परियोजनामा नर्वे सरकारको सहयोग रहेको उपकुलपति प्रो.डा. रामकण्ठ माकजुले जानकारी दिनु भयो ।