नयाँ प्रदेश प्रमुखको नाम तोकियो 

नेपाल पक्ष असन्तुष्ट 

0
Shares

काठमाडौं, (नेस)।

सातवटै प्रदेशका प्रदेश प्रमुखहरू हटाएको भोलिपल्ट नेपाल कम्युनिस्ट पार्टी नेकपाले प्रदेश प्रमुखहरूको नाम टुंगो लगाएको छ। नेकपाको सोमबार बसेको सचिवालय बैठकले सातै प्रदेशका प्रदेश प्रमुखको नाम टुंगो लगाएको हो।

सिफारिस गरिएका प्रदेश प्रमुखहरूमा अमिक शेरचन (चितवन), सोमनाथ अधिकारी (कास्की), तिलक परियार (बाँके), धर्मनाथ यादव (सिरहा), गोविन्द कलौनी (डडेलधुरा), शर्मिला त्रिपाठी (काठमाडौं) र विष्णु प्रसाईं (झापा) रहनुभएको छ।

उहाँहरूको नाम सरकारसमक्ष सिफारिस गर्ने निर्णय भएको बैठकपछि नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो। सरकारले आइतबार सातै प्रदेशका प्रदेश प्रमुखलाई हटाउने निर्णयसँगै नेकपाले नयाँ नामको टुंगो लगाएको हो। चितवनका शेरचन पूर्वउपप्रधानमन्त्रीसमेत हुनुहुन्थ्यो। एक समय जनमोर्चा नेपालका अध्यक्षसमेत रहनुभएका शेरचन माओवादी हँुदै हाल नेकपामा सक्रिय हुनुहुन्छ।

कास्कीका अधिकारी पूर्वसभासद् हुनुहुन्छ। उहाँ प्रतिनिधिसभा सदस्यका लागि कास्की–२ मा हुने उपचुनावका लागि उम्मेदवारको दाबेदार हुनुुहुन्थ्यो। बाँकेका तिलक परिवार पूर्वसभासद् हुनुहुन्छ। प्रदेश प्रमुखमा सिफारिस भएका सिराहाका यादव नेकपाका केन्द्रीय सदस्य हुनुहुन्छ।

यस्तै बैतडीका कलौनी ०४८ मा शेरबहादुर देउवासँग चुनाव लड्नुभएको थियो। एमाले फुटेर माले बन्दा त्यता गएका उहाँ पछिल्लो समय तत्कालीन एमालेमा सक्रिय हुनुहुन्थ्यो। प्रसाईं मेचीनगर नगरपालिकाको मेयरको उम्मेदवार हुनुहुन्थ्यो। यस्तै त्रिपाठी तत्कालीन माओवादीसम्बद्ध बेपत्ता परिवार समाजको अध्यक्ष हुनुहुन्छ।
उहाँका श्रीमान् ज्ञानेन्द्र त्रिपाठीलाई सशस्त्र विदोहको समयमा राज्य पक्षले बेपत्ता पारेको थियो।सरकारको सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश–१ का गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश–२ का रत्नेशवरलाल कायस्थ, प्रदेश–३ का अनुराधा कोइराला, गण्डकीका बाबुराम कुँवर, प्रदेश–५ का उमाकान्त झा, कर्णालीका दुर्गाकेशर खनाल र सुदूरपश्चिमका मोहनराज मल्ललाई प्रदेश प्रमुखको जिम्मेवारीबाट पदमुक्त गर्नुभएको थियो।

यसैबीच नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले उक्त निर्णयप्रति आफ्नो कुनै संलग्नता नरहेको बताउनुभएको थियो।