डडेल्धुरामा १७औं अनशन 

0
Shares

राम धामी, डडेल्धुरा ।

चिकित्सा क्षेत्रमा सुधारको माग राखी पटक–पटक अनशन बस्दै आउनुभएका डा. गोविन्द केसीले १७औं पटकको सत्याग्रह डडेल्धुरा सदरमुकामबाट शुरू गर्नुभएको छ।

डडेल्धुरा सदरमुकामस्थित संघीय सरकार मातहतको डडेल्धुरा अस्पताल परिसर नजिकको एक निजी घरबाट सत्याग्रह शुरू गर्नुभएका डा. केसीले यसपटक सात सूत्रीय माग अघि सार्नुभएको छ।

उहाँले पत्रकार सम्मेलनको आयोजना गर्दै बेलुकी पाँच बजेबाट औपचारिकरूपमा सत्याग्रह शुभारम्भ गर्नुभएको हो।

त्रिवि शिक्षण अस्पतालबाट केही दिनअघि मात्र अवकाश पाउनुभएका डा. केसीले सरकारसँग भएको सम्झौता कार्यान्वयनका लागि कात्तिक ८ गतेसम्मको अल्टिमेटम दिनुभएको थियो।

यसबीचमा दीपावली परेकाले केही ढिला गरी सत्याग्रह शुरू गरिएको हो।सरकारले माग सम्बोधन गर्नुको साटो उल्टै सम्झौता उल्लंघन गरेकाले आन्दोलनमा जानुको विकल्प नरहेको उहाँले बताउनुभयो।

गत भदौमा डडेल्धुरा पुगेर सदरमुकामस्थित डडेल्धुराको अवलोकन गर्नुभएका डा. केसी यसपटक अनशन बस्न सोमबार दिउँसो मात्रै डडेल्धुरा पुग्नुभएको हो।

सरकारी अस्पतालमा सत्याग्रह नगर्ने घोषणा गर्नुभएका उहाँले अस्पताल परिसर नजिकै रहेको स्थानीय नीलकण्ठ भट्टको निजी घरमा बसेर सत्याग्रह आरम्भ गर्नुभएको छ।

भट्ट डडेल्धुरा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी हुनुहुन्छ।यसपटक डा. केसीले नेपालका सबै निजी मेडिकल कलेजले अवैधरूपमा असुल गरेको रकम फिर्ता गरिनुपर्ने, अर्बौंको ठगी र आर्थिक अपराधका दोषी मेडिकल कलेजका सञ्चालकहरूलाई फौजदारी कानुनबमोजिम कडा कारबाही गरिनुपर्ने, संसदीय उपसमितिको माफियाको प्रभावमा गरिएको शुल्क र सिट संख्यामा वृद्धि गर्नेलगायतका निर्णयहरू खारेज गरिनुपर्ने माग अघि सार्नुभएको छ।

यसै गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबीबीएस कार्यक्रम सञ्चालन गरिनुपर्नेलगायतका सात सूत्रीय माग अघि सार्नुभएको छ।

डोटी, डडेल्धुरा, उदयपुर र इलाम पाँचथरमा सरकारी मेडिकल कलेज खोल्न प्रक्रिया अघि बढाउनुपर्ने, क्यान्सरलगायतका महँगा औषधी भारतभन्दा ४–५ गुणा महँगो भएकाले सुपथ मूल्यमा उपलब्ध गराइनुपर्ने, कर्मचारी समायोजनका क्रममा सेवा अवरुद्ध भएका डडेल्धुरालगायतका अस्पताल र स्वास्थ्य संस्थाहरूमा तत्काल दरबन्दीअनुसार चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्था गरिनुपर्ने र संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरूमा दलीय भागवण्डा रोकी पीडितहरूको मागअनुसार सम्बन्धित कानुन संशोधन गरेर पीडितको विश्वास जित्ने विज्ञहरूलाई नियुक्ति गरिनुपर्ने माग अघि सारिएको छ।

यसअघि १६ पटकसम्म आमरण अनशन बस्नुभएका केसीले माग पूरा नहुञ्जेलसम्म आन्दोलन जारी रहने बताउनुभयो। उहाँले केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला मात्रै योसहित चौथोपटक सत्याग्रह बस्नुपरेको जानकारी दिनुभयो।

हरेक दलका नेताहरूले सरकारको नेतृत्व गरेका बेला सत्याग्रह बसे पनि कसैले माग सम्बोधन नगरेको स्पष्ट पार्नुभयो।चिकित्सा शिक्षाको सुधार हुनुपर्ने माग राख्दै सरकारलाई दबाब दिन उहाँ १६ पटकसम्म अनशन बसिसक्नुभएको छ।

उहाँले आफ्नो १५औं अनशन जुम्ला र १६औं अनशन इलाम पुगेर शुरू गर्नुभएको थियो।डडेल्धुरामा डा. केसीले सत्याग्रह शुरू गर्ने खबर फैलिएसँगै स्थानीय अगुवाले डा. केसीलाई भेट्दै आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन्।

नागरिक समाज डडेल्धुरालगायत विभिन्न सामाजिक संघ–संस्थाले डा. केसीको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै आन्दोलनमा सघाउने बताएका छन्। १७औं पटकको सत्याग्रहका लागि एक्लै डडेल्धुरा पुगेका डा. केसीलाई स्थानीयले सहयोग गरिरहेका छन्।