सुरुङमा बेपत्ता चार मजदुरको मृत्यु

0
Shares

ललित सिंह, बझाङ।

बझाङ बुङ्गल नगारपालिका–१ मा निर्माणाधीन ६५ मेगावाटको कालगंगा हाइड्रोपावरको सुरुङमा बेपत्ता भएका चार जना मजदुर मृत अवस्थामा फेला परेका छन्। आइतबार दिउँसो करिब ३ बजेतिर बुङ्गल नगरपालिकाको दारिमगाढ भन्ने स्थानमा सुरुङभित्र काम गर्न जाने क्रममा उनीहरू बेपत्ता भएका थिए।

आइतबार दिउँसो करिब ३ बजेतिर बुङ्गल नगरपालिकाको दारिमगाढ भन्ने स्थानमा सुरुङभित्र काम गर्न जाने क्रममा बेपत्ता भएका थिए।

बेपत्ता भएका मजदुरको हिजो सोमबार सुरुङमार्गमै मृत अवस्थामा उद्धार गरिएको हो।मृत्यु हुनेमा दैलेखका कर्णबहादुर शाही र महेन्द्र शाही, अछामका महेन्द्र साउद र बझाङका शेरबहादुर धामी रहेको इलाका प्रहरी कार्यालय बुङ्गल झापाका प्रहरी सहायक निरीक्षक अम्मर भण्डारीले जानकारी दिनुभयो।

गाडीसहित सुरुङभित्र काम गर्ने क्रममा एक्कासी गाडीको स्टार्ट बन्द भएपछि काम गरिरहेका उनीहरू बाहिर आउन नसकेको हुनसक्ने आशंका गरिएको छ। सुरुङभित्र प्राविधिक टिमले खोज्ने प्रयास गरेको भए तापनि सुरुङभित्र अक्सिजनको मात्रा एकदमै कम रहेको भन्दै उक्त टोली कामै नगरी फर्किएको थियो।

तर, सोमबार उनीहरूको खोजीका लागि हेलिकोप्टरमार्फत मेसिनसहित सशस्त्र प्रहरीको उद्धार टोली आएर खोजी गर्ने क्रममा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। ७० प्रतिशतभन्दा बढी काम भइसकेकाले बाँकी काम गर्ने क्रममा उनीहरूको मृत्यु भएको हो।

चारै जना मजदुरको अक्सिजनको कमीका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङको भनाइ छ। दारिमगाढ सुरुङ करिब १४ सय मिटर लामो रहेको तथा अक्सिजनको कमी भएका कारण सो घटना घटेको कालगंगा हाइड्रोका संस्थापक वीरेन्द्रबहादुर मल्लले बताउनुभयो।