अर्थमन्त्री खतिवडा र नर्वेका विकास मन्त्रीबीच भेटवार्ता  


काठमाडौँ ।
अर्थमन्त्री डा युवराज खतिवडा र नर्वेका अन्तरराष्ट्रिय विकासमन्त्री डाग इन्जे युलस्टेनबीच नेपालको सङ्घीयता कार्यान्वयन, वैदेशिक लगानी, नेपालको ऊर्जा विकासलगायतका विषयमा छलफल भएको छ । अर्थमन्त्रालयमा आज भएको शिष्ट्राचार भेटमा नर्वे सरकारले नेपालको विकासमा पुर्याएको सहयोगको अर्थमन्त्री डा. खतिवडाले प्रशंसा गर्दै थप सहयोगको अपेक्षा गर्नुभएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

अर्थमन्त्री डा. खतिवडाले नेपाल सङ्घीयताको अभ्यासमै रहेको भन्दै स्थानीय तहको क्षमता र विकासमा सहयोग गर्न आग्रह गर्नुभयो । खतिवडाले सङ्घ र प्रदेशलाई बलियो बनाउन सङ्घीय सरकार लागेको स्पष्ट पार्नुभयो ।

प्रत्यक्ष वैदेशिक लगानी परिचालनमा दोस्रो चरणको सुधार कार्ययोजना, व्यापार घाटा सन्तुलन गर्ने प्रयास, अर्को वर्षदेखि विद्युत् आयातलाई शून्यमा झार्ने प्रयास भइरहेको अर्थमन्त्रीको भनाइ थियो । उहाँले सङ्घीय प्रणालीलाई व्यवस्थापन गर्दै सङ्घीयतामा विकास र कर प्रणालीलाई सन्तुलन गर्दै व्यावहारिकरुपमै नागरिकलाई सेवा दिने गरी समावेशी प्रजातन्त्रलाई प्रवद्र्धन गर्ने नीति सरकारले लिएको स्पष्ट पार्नुभयो ।

सो अवसरमा नर्वेका विकास मन्त्रीले नेपालको सङ्घीयता कार्यान्वयनमा नर्वे सरकारले गर्नसक्ने सबै प्रकारका सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको थियो । प्रत्यक्ष वैदेशिक लगानी परिचालन गर्नका लागि दोस्रो चरणको सुधारका सम्बन्धमा चासो व्यक्त गर्दै उहाँले कर प्रणालीलाई सबलीकरण गर्ने क्षेत्रमा सहयोग गर्न तत्परता देखाउनुभयो ।

यस्तै एशियाली विकास बैंक र नर्वे सरकारबीच ऊर्जा क्षेत्रमा सहवित्तीयकरणका लागि सम्झौतापत्रमा समेत सोही अवसरमा हस्ताक्षर भएको थियो । अर्थमन्त्रालयका अनुसार केही दिनभित्रैमा एशियाली विकास बैंक र नेपाल सरकारले समेत समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ ।  रासस