फोहोर व्यवस्थापनमा राजनीति, जमिन सम्याउन जाँदै गरेको डोजर तोडफोड


मोतीराम तिमल्सिना, बनेपा ।

बनेपा नगरपालिकाले फोहोरमैलाको दिगो ब्यवस्थापनका लागि पहिलो पटक जापानिज प्रविधिको हिटा कम्पनीको एफ वान मोडलको धुँवा रहित चिम्नीको प्रयोग गर्ने कार्यमा नेपाली कांग्रेसका क्षेत्रिय सभापति एवं पुर्व राज्यमन्त्री कञ्चनचन्द्र बादेको निर्देशनमा स्थानीयले अवरोध पुर्‍याएका छन् ।

नगरपालिकाले आफ्नै स्वामित्वमा रहेको वडा नम्वर ९ को जमिनमा उक्त मेशिन मार्फत फोहोरको ब्यवस्थापन गर्ने गरी नीजि कम्पनीलाई ठेक्का दिएको थियो । उक्त मेशिनका लागि जमिन सम्याउन जाँदै गरेको डोजर स्थानीयले बाटोमै रोकेर तोडफोड गरेका छन् । वडा अध्यक्ष शेरबहादुर सुवालकोे नेतृत्वमा स्थानीयहरुले स्काभेटर तोडफोड गरेका हुन् । जनपथ र शशस्त्र प्रहरीलाई समेत स्थानीयले ‘नेपाली कांग्रेस जिन्दावाद, फोहोर ल्याउन पाईदैन’ भन्ने नारावाजी गर्दै ढुंगामुढा गरेका थिए । ‘हामीलाई पुुर्व मन्त्री समेत रहनु भएका कांग्रेसका क्षेत्रिय सभापति कञ्चनचन्द्र बादेले डोजर लैजान नदिनु भन्नु भएको छ’–वडा अध्यक्ष सुवालले भन्नुभयो–‘उहाँकै निर्देशनमा स्थानीयहरुले अवरोध गरेका हुन् । हामी डोजर लैजान दिदैनौं ।’ तोडफोडबाट डोजर पूर्ण रुपमा क्षति भएको छ । डोजर चालक सामान्य घाईते छन् । स्थानीयहरुले प्रहरीलाई प्रहार गरेको ढुगाबाट केहि स्थानीय र प्रहरी घाईते भएका छन् ।

फोहोरमा राजनीति

लामो समय देखि समस्यामा रहेको बनेपा नगरपालिकाको फोहोर ब्यवस्थापनमा नेपाली कांग्रेसले फोहोरी राजनीति गरेको नेकपाका नेताहरुले बताएका छन् । सोमबार भएकोे विरोध प्रर्दशनमा समेत नेपाली कांग्रेस जिन्दावाद भनेर नारा लगाईएको थियो । नेपाली कांग्रेसका क्षेत्रिय सभापति, पुर्व राज्य मन्त्री कञ्चनचन्द्र बादेले जिल्ला स्तरीय सर्वदलिय बैठकमा वातावरणीय र सामाजिक मुल्यांकन विना कुनै पनि कार्य गर्न नदिने बताउनु भएको थियो । सोमबार विहान प्रजिअ श्रवणकुमार तिमल्सिनालाई भेटेरै बादेले काम शुरु गरे जे पनि हुन सक्ने चेतावनी दिनु भएको थियो । साथमा नेपाली कांग्रेसका सभापति मधु आचार्य पनि हुनुुहुन्थ्यो ।

नेपाली कांग्रेसका कार्यकर्ता बाहेक डोजरको तोडफोडमा कोहि आएनन । नाराबाजी पनि उनिहरुले नै गरे । मेयर विरुद्ध र नेपाली कांग्रेसको समर्थनमा नाराबाजी भएपछि फोहोरमा राजनीति गरेको आरोप लागेको छ । हप्तौ देखि बजारमा फोहोर थुप्रिँदा पनि नगरपालिकाले फोहोर ब्यवस्थापन गर्न नसकेको भन्दै स्थानीयले आलोचना गरेपछि नगरपालिकाले जापानिज प्रविधिको फोहोर जलाउने मेशिन उक्त स्थानमा राख्न लागेको हो ।

सर्वदलियमा काम गर्ने निर्णय

जिल्ला समन्वय समिति काभ्रेको हलमा आयोजना गरिएको सर्वपक्षिय भेलामा नगरपालिकाले फोहोर मैला ब्यवस्थापनमा अपनाउन लागेको विधी र प्रकृयाका बारेमा जानकारी गराईएको थियो । समन्वय प्रमुख उद्धव केसीको अध्यक्षतामा सम्पन्न छलफल बैठकमा पुर्व राज्यमन्त्री कञ्चनचन्द्र बादे, बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिं बादे, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य सुरकृष्ण बैद्य, जिल्ला अध्यक्ष प्रकाश मानन्धर, नेपाली कांग्रेसका जिल्ला उपसभापति अच्युतप्रसाद पौड्याल, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, वडा अध्यक्षहरु लगायतको सहभागिता रहेको थियो । सर्वपक्षिय भेलाले जापानिज प्रविधिको फोहोर जलाउने मेशिन बनेपा नगरपालिका वडा नम्वर ९ स्थित कृषि फर्ममा राख्ने निर्णय गरेको छ । साथै उक्त मेशिनले नागरिकलाई असर पु¥याएमा उक्त स्थानबाट हटाउने समेत निर्णय भएको थियो ।

उक्त कार्यका लागि सबै क्षेत्रबाट सहयोग पु¥याउने निर्णय गरेको थियो । फोहोर मैला ब्यवस्थापनसँगै उक्त क्षेत्रको सडक, विद्युत्त, खानेपानी लगायतका निर्माणका कार्य तत्काल शुरु गर्ने निर्णय भएको छ । फोहोरमैला ब्यवस्थापन गर्न लैजाँदा ब्यवस्थित बनाउनु पर्ने निर्णय भएको छ । उक्त भेलामा नेपाली कांग्रेसका क्षेत्रिय सभापति कञ्चनचन्द्र बादेले वातावरणीय मुल्यांकन विना कुनै पनि कार्य गर्न नहुने भन्दै फरक मत लेखेका थिए ।