उपकुलपति प्रा.डा बाँस्कोटाद्धारा पदभार ग्रहण


न्युज अफ नेपाल, काठमाडौँ ।

त्रिभुवन विश्वविद्यालयको १९ औं उपकुलपतिमा प्रा.डा धर्मकान्त बाँस्कोटाले आज दिउसो ३ बजे पदभार ग्रहण गर्नुभएको छ । कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो आइतबार प्राडा बाँस्कोटालाई त्रिवि उपकुलपति पदमा नियुक्त गर्नुभएको थियो । चिकित्साशास्त्र अध्ययन संस्थानमा नाक,कान र घाटी रोगका विज्ञेषज्ञ डा. बास्कोटा २०३६ साल वैशाख २६ गते सहायक प्रशिक्षक पदबाट त्रिवि सेवामा  प्रवेश गर्नुभएका  थियो ।

उँहा २०६६ सालदेखि प्राध्यापकमा बढुवा हुनुभएको हो । त्रिवि ऐन २०४९ अनुसार त्रिवि उपकुलपतिको पदावधि ४ बर्षको रहने व्यवस्था  छ । पदभार लगत्तै  उहाले उपकुलपति बास्कोटाले मन, धन र कर्मले प्रतिवद्ध भई नेतृत्वको प्रमुख काम भिजन सिर्जना गरी स्रोत जुटाउने र त्रिविलाई विश्वमा चिनाउने दायित्व निर्वाह गर्न आफूले भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यसैगरी निष्पक्षता, पारदर्शीता,सामुहिकता र जवाफदेहिता सहितको काम गर्ने गराउने कार्यमा सबैसँग मिलेर अघि वढ्ने चाहना समेत व्यक्त गर्नुभएको थियो । उहाँले त्रिविमा भौतिक पुर्वाधार निर्माणमा समस्या रहेको उल्लेख गर्दै प्राध्यापनको वातावरण सिर्जना गर्दै आवश्यकता अनुसार निति नियम संशोधन गरी शैक्षिक क्यालेण्डर नियमित गर्ने र  पाठ्यक्रम सुधार गर्ने कार्ययोजनालाई रोडम्याप बनाएर अघि वढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नवनियुक्त उपकुलपतिलाई स्वागत गर्नुहुदै त्रिविका शिक्षाध्यक्ष प्राडा सुधा त्रिपाठीले विगत भन्दा फरक ढंगले नेतृत्व दिएर निरन्तरताको क्रमभंग गर्नुपर्ने आश्यकता औल्याउदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । रजिष्ट्रार डिल्लीराम उप्रेतीले त्रिविमा सुधारका अनेकौ प्रयासहरु जारी रहेकोमा नवनियुक्त उपकुलपतिको नेतृत्वमा त्रिविको आज रहेको साखलाई भोलीपनि कायम राख्न सकिने विश्वास व्यक्त गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । त्रिविका प्राध्यापक संघका सभापति प्रा.डा वसन्त ढकाल र त्रिवि कर्मचारी संघ केन्द्रीय कार्यलय इकाई सभापति चेतनाथ न्यौपानेले समेत  उपकुलपतिलाई स्वागत मन्तव्य व्यक्त गर्दै शुभकामना दिनुभएको थियो ।