बैतडीमा सवारी दुर्घटना हुँदा तीनको मृत्यु


न्युज अफ नेपाल, बैतडी ।
बैतडीमा एक महिनाको अवधिमा सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य ४ जना घाइते भएका छन् । असोज १२ गते घटस्थापनादेखि कात्तिक १७ गते छठसम्म ५ सवारी दुर्घटना भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

कात्तिक ७ गते स्काईभेटरले किच्दा मेलौली नगरपालिका ५ पेलेका ५५ बर्षीया शुक्र सिंह पुजाराको मृत्यु भएको थियो। यस्तै कात्तिक ७ गते नै महाकाली राजमार्ग अन्र्तगत बैतडीको सतबाँझ गोकुलेश्वर सडकखण्डको सिन्केलेकमा मिनी ट्रक दुर्घटना हुँदा चालक दार्चुलाको नौगाड गाउँपालिका सिप्टीका गोपालसिंह धामीको मृत्यु भएको थियो ।

यसका साथै कात्तिक ११ गते जिपबाट खसेर पाटन नगरपालिका ७ किम्तोलीका १५ वर्षीय सुबास चन्दको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख, प्रहरी सहायक निरीक्षक आकाश रावलले जानकारी दिनुभयो ।

यसैबिच उक्त अवधिमा २६२ सवारी कार्वाहीवाट १ लाख ४२ हजार ५०० रुपैंया राजश्व संकलन भएको छ । जसमा सबैभन्दा बढी १८० जीपकार कार्बाहीवाट १ लाख, ३० ट्याक्टरवाट १५ हजार, २५ मोटरसाइकलवाट १४ हजार, २२ बसट्रकवाट ११ हजार र अन्य ५ गरि २ हजार ५ सय राजश्व संकलन भएको हो ।

ट्राफिक प्रहरीले दशैंतिहारलाई लक्षित गर्दै सवारी चेकजाँचमा पनि कडाई गरेको थियो।