श्रीमती हत्या आशंकामा श्रीमान पक्राउ, अर्कै युवतीसँग सम्बन्ध रहेको खुलासा


न्युज अफ नेपाल, वीरगञ्ज ।

अठार वर्षीय श्रीमतीको हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिराभवानी गाउँपालिका–३ परसवा बस्ने १८ वर्षीया नीपुकुमारी पासवानको हत्या उनकै श्रीमान् रामबाबु पासवानले गरेको हुनसक्ने प्रहरीले जनाएको छ । नीपुको शव घाँटी रेटिएको अवस्थामा पर्साको ठोरी गाउँपालिका–५ ठूलो बाघमोर्चादेखि उत्तरतर्फ ओरियाखोला किनार स्थित झाडीमा भेटिएको थियो । हत्यामा संलग्न भएको आशंकामा प्रहरीले नीपुको श्रीमान रामबाबुलाई नियन्त्रणमा लिएको छ । शव पोष्टमार्टमका लागि नारायणी अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

मृतक नीपुका माइती पक्षले भने ज्वाइँ रामबाबुले नै छोरीको हत्या गरेको दाबी गरेका छन् । मृतकको माइती भारतको बिहार राज्य, पचरुखी सेढवामा पर्छ । रामबाबुको गाउँमा अर्कै युवतीसँग सम्बन्ध रहेको र नीपुले थाहा पाएपछि घरमा खटपट चलिरहेको माइती पक्षले जनाएको छ । यसबारे नीपुले माइतीलाई पहिले नै जानकारी गराएको खुलेको छ ।

प्रहरी नियन्त्रणमा रहेका रामबाबुमाथि थप अनसुन्धान चलिरहेको प्रहरीले जनाएको छ ।