कृषि सडक कालोपत्रे गरिदिन माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र


न्युज अफ नेपाल,  विराटनगर ।

मोरङको बेलबारी हुदै भारतको जोगवनी जोड्ने सडक कालोपत्रे गर्न माग गर्दे बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदी सहितको टोलीले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईको ध्यानाकर्षण गराएको छ ।

नगर प्रमुख सुवेदी सहित वडाध्यक्षहरु तथा नेकपाका स्थानीय नेताहरुले मुख्यमन्त्री राईलाई भेटेर ध्यानाकर्षण गराएका हुन् । बेलबारीका ७, ८ र १० नम्बर वडा हुदै रंगेली जोड्ने सडक कालोपत्रे गर्न माग गर्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको बताईएको छ । बेलबारी नगरपालिकाको गौरवको आयोजना मध्ये सो सडक पनि एक हो । कृषि सडकका रुपमा समेत लिने गरिएको भाउन्ने–आमतोला सडक खण्ड कालो पत्रे भए कृषि उपजको ब्यापार भारत सम्म पुग्ने स्थानीयको भनाइ छ । सो सडक खण्ड अन्र्तगत बेलबारीमा मात्रै १३ किलो मिटर रहेको छ । सडकमा खाल्डा खुल्डी तथा धुलोको कारण स्थानीयलाई समस्या भएको नगर प्रमुख सुवेदीले बताए ।

गत बर्ष शाह श्रीकृष्ण जेभी इनरुवाले केही सडक खण्ड कालोपत्रे गर्न ठोक्का मार्फत जिम्मा लिए पनि सम्झौतानै गर्न नआएपछि बजेट फ्रिज भएको थियो । सडक कालोपत्रे गर्न माग गर्दै पुगेको टोलिलाई मुख्यमन्त्री राईले छठ पछाडी देखी सो सडक खण्डको कालोपत्रेका लागि प्रकृया अघि बढाउने आश्वासन दिनु भएको थियो ।