नेकपाको पार्टी कार्यालयमा अनिश्चितकालिन तालाबन्दी

कार्यकर्ता र नेताको भावना बिपरीत ढकाललाई उम्मेदवार बनाउने निर्णय गरेको आरोप


पुष्कर बुढाथोकी, भक्तपुर ।

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा टिकटको बिषयलाई लिएर आज भक्तपुरमा नेकपाको पार्टी कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरिएको छ । भक्तपुर क्षेत्र नं १ क मा हुने उपनिर्वाचनमा टिकटका बिषयलाई लिएर चाँगुका नेता कार्याकर्ताले नेकपाको पार्टी कार्यालयमा बिहान तालाबन्दी गरेका हुन् ।

हिजो बसेको नेकपाको केन्द्रिय सचिवालय बैठकले भक्तपुर क्षेत्र नं १ क मा हुने उपनिर्वाचनमा भक्तपुर जिल्ला सचिब देबि प्रसाद ढकाललाई उम्मेदवार बनाउने निर्णय गरेसँगै भक्तपुर नेकपा पार्टी कार्यालमा तालाबन्दी गर्दै नेता कार्याकर्ताले आक्रोश पोखका हुन् ।
तालाबन्दीमा आएका नेता कार्यकर्ताले नारावाजी गर्दै उक्त उपनिर्वाचन क्षेत्रका कार्यकर्ता र नेताको भावनालाई नसमेटेको भन्दै निर्णय फिर्ता लिन आग्रह गर्दै नाराबाजी गरेका थिए ।

बिगतको प्रदेशसभाको निर्वाचनमा नेकपाको तर्फबाट बागी उम्मेद्वार समेत बनेका ढकाललाई उपनिर्वाचनमा केन्द्रले टिकट दिएपछि नेता कार्यकर्ता रुष्ट बनेको तालाबन्दीमा आएका नेकपा भक्तपुरका जिल्ला कमिटिका सदस्य साधुराम दाहालले बताए । नेकपाले उप निर्वाचन हुन लागेको यो स्थानमा उमेद्वारको लागि रमेश बुढाथोकी,मोहन बिर श्रेष्ठ र नारायणी फुँयाल र डिपि ढकालकको नाम केन्द्रलाई सिफारिस गरेको थियो ।

उनले भने, निर्णय फिर्ता नलिए यसले उपनिर्वाचनमा ठूलो असर पार्ने र बेलैमा केन्द्रले सोचबिचार नगरे परिणाम सोचे भन्दा पार्टीका लागि घातक बन्ने छ ।

२ सय भन्दा नेता तथा कार्यकर्ताले हस्ताक्षर गरेको बिज्ञप्ति मार्फत उनीहरुले निर्णय तत्काल फिर्ता लिई जिल्लाले सिफारीस गरेका मध्य उपयुक्त उम्मेदवारलाई टिकट दिन माग गरेका छन् ।

निर्वाचन हुन लागेको क्षेत्रमा बिगतमा नेकपाका तर्फबाट हरिशरण लामिछानेले जितेका थिए । उनको मृत्यु पश्चात रित्त रहेको सो स्थानमा उपनिर्वाचन हुन लागेको हो ।