त्रिवि उपकुलपतिमा डा. बास्कोटा

0
Shares

काठमाडौं, (नेस)।

त्रिभुवन विश्वविद्यालयकोे उपकुलपतिमा डा. धर्मकान्त बास्कोटा नियुक्त हुनुभएको छ। प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले डा. बास्कोटालाई त्रिविको १९औं उपकुलपतिको नियुक्ति गर्नुभएको हो । सिफारिस भएका तीनमध्ये दोस्रो नम्बरमा परेका डा. बास्कोटा उपकुलपति हुनुभएको हो।

प्रम ओलीले प्राडा. बास्कोटासँग छलफल गरेपछि उहाँलाई नियुक्ति गर्नुभएको हो। बास्कोटालाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति गिरिराजमणि पोखरेल संयोजक रहेको सर्च कमिटीले दोस्रो नम्बरमा सिफारिस गरेको थियो।

प्रम ओलीले आफू निकटलाई उपकुलपति बनाउने अडान कायम राखी भनेकै व्यक्तिलाई उपकुलपति बनाउनुभएको हो।त्रिवि उपकुलपतिको दौडमा तेस्रो नम्बरमा रहेका प्राडा. चन्द्रमणि पौडेललाई त्रिविबाहेक अन्य ६ विश्वविद्यालयमध्ये एकमा उपकुलपति बनाउने तयारी भएको छ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनजिक रहनुभएका प्राडा. पौडेललाई पोखरा विश्वविद्यालयको उपकुलपति बनाउने तयारी भइरहेको बुझिएको छ।  प्राडा. पौडेलले विश्वविद्यालयको उपकुलपति बन्न शिक्षामन्त्री एवं विश्वविद्यालय सहकुलपति पोखरेलसमक्ष अनुभव र व्यक्तिगत विवरण पेस गरिसक्नुभएको छ।