बुद्धिकुमारको एकल प्रयास खेल मैदान बनाउन करोड खर्च

0
Shares

रामचन्द्र विक, रामेछाप।

खेलकुदको क्षेत्रबाट समृद्ध राष्ट्र बनाउन सकिने भए पनि सरकारले खेलकुद विकासमा देखाएको उदासिनताका कारण नेपालको खेलकुदमा भने जति विकास हुन सकेको छैन। खेलकुदकै माध्यमबाट विकास गर्न सकिने आधारहरु धेरै भएको र सरकारले खेलकुदलाई प्राथमिकतामा नराखे पनि सहयोगी हातहरु जुटे भने ग्रामीण क्षेत्रबाटै खेलकुदलाई विकास गर्न सकिन्छ भन्ने उद्देश्यका साथ रामेछाका एक व्यक्तिले खेलकुद विकासमा करोड खर्च गरिसक्नुभएको छ।

रामेछापको उमकुण्ड गाउँपालिका–७ भुजी घर भई हाल बेलायतमा बसोबास गर्ने पूर्वव्रिटिस आर्मी बुद्धिकुमार सुनुवारले सुविधा सम्पन्न खेलमैदान बनाउने योजनाका साथ अमृत घामछाँया खेलकुद मैदान नाम दिएर खेलकुद विकासमा एक्लो प्रयास सुरु गर्नुभएको हो।

२१ वर्ष अघिदेखि नै सुनुवारले खेलकुद विकासमा टेवा पुर्याउने उद्देश्यका साथ आफ्नो नाउँमा रहेको पाखो जग्गालाई सम्याएर खेल मैदान बनाउनकै लागि पटक–पटक गरी ३५ लाखभन्दा माथि खर्च गरिसक्नुभएको छ। त्यस्तै ९ वर्ष अघि सुनुवारकै सहयोगमा भुजी लिगको स्थापना गरी यस वर्ष भुजी लिगको ९ औं संस्करणसमेत खेलाई सकिएको छ।

आफूले स्थापना गरेको भुजी लिगको परिणाम राम्रो देखिँदै जान थालेकाले खेलकुदको माध्यमबाट ग्रामीण क्षेत्रको विकास गर्न सकिने बलिया आधारहरु भएकाले अहिले खेलकुद विकासको यात्रामा रहेको लिखु भुजी रामेछाप युवा क्लबको नाममा स्थानीय मूल्यअनुसार ५५ लाखबराबरको ६ रोपनी १० आना जग्गासमेत नामसारी गरिदिनुभएको छ।

त्यस बाहेक समाजसेवी सुनुवारले भुजी लिग रनिङ सिल्डका लागि आवश्यक बजेटको समेत व्यवस्थापन गरिदिने गरेको लिखु भुजी रामेछाप युवा क्लबका अध्यक्ष शेर कुमार सुनुवारले बताउनुभयो। मान्छे नै बस्न छोडेको गाउँमा करोडौ खर्च गरेर खेलकुद विकासमा समाजसेवी सुनुवारले देखाएको सहयोगलाई सबैले उच्च मूल्यांकन गर्नुपर्ने कल्बका अध्यक्ष शेरकुमार सुनुवारले बताउनुभयो।

शुक्रबार मालपोत कार्यालय रामेछापमा क्लबको नाममा जग्गा नामसारी गर्दै समाजसेवी सुनुवारले ग्रामीण क्षेत्रलाई खेलकुदको माध्यमद्वारा विश्व सामू नेपालीलाई चिनाउन देशको शिर नै उच्च रहने भएकाले आफूले खेलकुदको क्षेत्रमा व्यक्तिगत सहयोग गरेको बताउनुभयो। उहाँले भुजीमा अन्तर्राष्ट्रिय स्तरको खेलमैदान बनाउने गरी आफू लागिपरेको समेत बताउनुभयो।