डेपुटी गभर्नर श्रेष्ठबारे आज निर्णय हुँदै

0
Shares

परिवर्तन देवकोटा, काठमाडौं।

वित्तीय अनियमितताको आरोप लागेका डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि कारबाही गर्ने या नगर्ने भन्नेबारे छलफल गर्न नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठक आज (सोमबार) फेरि बस्दै छ। आजको बैठकले उहाँमाथिको कारबाहीका लागि छानविन समिति बनाउने बताइएको छ।

डेपुटी गभर्नर श्रेष्ठमाथि कारबाही सिफारिस गर्नेबारे नेपाल राष्ट्र बैंक आइतबार अनिर्णित बन्यो। आइतबारको सञ्चालक समितिको बैठकमा मन्त्रिपरिषद्को निर्देशनसहितको पत्र प्रस्तुत नभएपछि यसबारे राष्ट्र बैंक अनिर्णित बनेको हो।

वित्तीय अनियमितताको आरोप लागेका श्रेष्ठमाथि छानबिन गर्न मन्त्रिपरिषद्ले यसअघि नै राष्ट्र बैंकलाई पत्र पठाउने निर्णय गरिसकेको छ। सोही निर्णयका आधारमा अर्थसचिव डा. राजन खनालले सो पत्र राष्ट्र बैंकको सञ्चालक समितिको बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको थियो।

यद्यपि उहाँले सोबारे कुरा नै ननिकालेको राष्ट्र बैंक स्रोतले जनाएको छ। स्रोतका अनुसार, राष्ट्र बैंकले यसै विषयमा छलफलका लागि सोमबार पनि सञ्चालक समितिको बैठक डाकेको छ। सोमबार बस्ने बैठकमा पत्र पेस हुने र सोहीअनुरुप श्रेष्ठमाथि छानबिनका लागि समिति गठन हुने सम्भावना छ।

आइतबारको बैठकमा बोर्ड अध्यक्षसमेत रहनुभएका गभर्नर चिरञ्जीवी नेपालले डेपुटी गभर्नर श्रेष्ठको विषयमा छलफल गर्न प्रस्ताव गर्नुभएको थियो। पछि डा. खनालले सो विषयमा पत्र प्रस्तुत नगरेपछि छलफल हुन नसकेको सञ्चालक समितिका एक सदस्यले नेपाल समाचारपत्रलाई जानकारी दिए।

डेपुटी गभर्नर श्रेष्ठले भने आफूमाथि लागेको आरोप निराधार रहेको नेपाल समाचारपत्रसँग बताउंदै भन्नुभयो– ‘म स्वाभाविक रुपमा गभर्नरको दाबेदार हुँ, गभर्नर बन्न नदिनका लागि केही व्यक्तिहरूले ममाथि नियोजित प्रहार गरे।’