धुलिखेल अस्पतालबाट सरकारले सिकेर नीति बनाउने मन्त्रीको दाबी

0
Shares

नेपाल समाचारपत्र, काभ्रे।

प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले धुलिखेल अस्पतालका बारेमा बाहिर सुनेको गुनासो र अस्पतालमै पुगेर हेर्दा फरक पाएको बताउनुभएको छ। उहाँले धुलिखेल अस्पताल पेल्बिस फ्लोर सेन्टरको उद्घाटन गर्दै सो कुरा बताउनुभएको हो।

मन्त्री दुलालले महिलाका स्वास्थ्य समस्या कति जटिल हुन्छन् र समाधानका लागि के गर्ने भन्ने विषयमा आयोजित २ दिने कार्यशाला गोष्ठीको उद्देश्यका बारेमा पनि अध्ययन गर्नुभएको थियो।धुलिखेल अस्पतालको अनुसन्धानात्मक उपचार पद्दतिबाट सरकारले पनि सिकेर नीति बनाउनसमेत मद्दत पुग्ने उहाँको भनाइ थियो।

उहाँले स्वास्थ्य सेवा आम नागरिकको नैसर्गिक अधिकार भएकाले धुलिखेल अस्पतालजस्ता स्वास्थ्य संस्थाले गरेका कामको सराहना गर्दै आगामी दिनमा आफूलगायत सरकारले योजना बनाउने बताउनुभयो। मन्त्री दुलालले धुलिखेल अस्पतालले अघि सारेको एकै थलोमा स्त्रीहरुको सबैखाले उपचार गर्ने सोच अघि सारेर नेपालकै नमुना सेवा शुरू गरेकोमा प्रशंसा गर्नुभयो।

उहाँले स्वास्थ्य क्षेत्रमा एकीकृत सेवाको अवधारणा अघि सारेको धुलिखेल अस्पतालको स्वास्थ्य सेवाले देश र आम जनतालाई मात्र नभई नजिकिदै गरेको पर्यटन वर्षलाई समेत सघाउ पुग्ने बताउनुभयो। कार्यक्रममा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा. रामकण्ठ माकजुले धुलिखेल अस्पतालको मुख्य लक्ष्य भनेकै गरिब जनताले एकै थलोमा सजिलै उपचार पाउन भन्ने भएको बताउनुभयो।

सोही अवसरमा जर्मनीका ओविएस गुन एपीएज क्लिनिकुम सुलका विभागीय प्रमुख डा.थोमस हंगीमेरले नेपाली जनताको स्वास्थ्य सेवामा लागिपरेको धुलिखेल अस्पतालको योजना सफलताका कामना गर्दै आगामी दिनमा पनि आफू र आफू कार्यरत जर्मनको संस्था सहकार्यमा जुट्ने बताउनुभयो।

स्त्रीरोग सम्बन्धी जटिल समस्याहरुलाई समयमै पहिचान गरि एकै थलोमा सबै प्रकारका विशेषज्ञहरुको संलग्नतामा उपचार गर्ने उद्देश्यलाई पूर्णता दिन संयोजना गरिरहनुभएका काठमाडौं विश्वविद्यालय धुलिखेल अस्पतालका एसोसिएट प्रोफेसर/गाइनोकोलोजिस्ट डा. आभा श्रेष्ठले धेरै महिलाहरु स्त्रीरोगलाई लुकाएर बस्ने गरेका कारण बढी तनावमा हुने गरेको बताउनुभयो। उहाँले अधिकांस महिलाका समस्या उस्तैउस्तै भए पनि एकले अर्कालाई भन्ने वातावरण नबनेको र उपचारको विषयमा जनचेतना नभएर पनि समस्या लुकाउने गरेको बताउनुभयो।