प्रिन्ट गर्नै दुई दिन छनोट गर्न कति दिन ?

सन्दर्भ: उपकुलपति नियुक्त

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ६ विश्वविद्यालयका उपकुलपति र दुई विश्वविद्यालयका सेवा आयोगका अध्यक्षसहित सदस्य हुन इच्छुक विज्ञलाई विवरणसहितको आवेदन माग गरेपछि नामको सूची र अनुभव दुई दिनमा समेत प्रिन्ट गर्न सकिएको छैन।१२ गतेसम्म करिब ४० जनाले आवेदन दिएको जनाएको मन्त्रालयले हालसम्म करिब सयको हाराहारीमा पुग्न सक्ने अनुमान छ।

मन्त्रालयको उच्च शिक्षा महाशाखामा संक्षिप्त विवरण पठाउने विज्ञको संख्या करिब ५० भन्दा माथि कटेको छ। मन्त्रालयले आवेदन दिनेको प्रारम्भिक सूची आज सार्वजनिक गर्ने तयारी गरेको छ। ‘व्यक्तिगत विवरण र अनुभव प्रिन्ट गर्दागर्दै हैरान भइसकेका छौं, आज दिनभरि प्रिन्ट गर्दा पनि सकिएला जस्तो छैन’ –उच्च शिक्षा महाशाखाका एक कर्मचारीले भने।

महाशाखामा कार्यरत करिब ६ जना कर्मचारी विवरण संकलन र प्रिन्ट गर्ने व्यस्त देखिएका छन्। ‘एक जनाले त ३४ पेज लामो अनुभव पेस गरेका छन्, एक जनाकै ३४ पेज लामो अनुभव प्रिन्ट गर्दा निकै समय लागेको थियो’ –एक कर्मचारीले भने। निवेदन पेस गर्ने अधिकांशले करिब १० पेज लामो अनुभव पेस गरेका छन्।

‘केहीले त आफूले तोकेको विश्वविद्यालयमा उपकुलपति भएपछिको योजनासमेत पेस गरेका छन्’ –स्रोतले भन्यो। ६ विश्वविद्यालयका उपकुलपतिका लागि आवेदन माग गरेपछि अधिकांश नाम चलेका र मन्त्रीको निकट भएका विज्ञले मन्त्री र मन्त्रीको सचिवालयमा निवेदन पेस गरेका छन्, केहीले सचिव र केहीले महाशाखामा निवेदन दिएका थिए।

सबैको निवेदन र अनुभवपत्र संकलन गरेपछि नाम सार्वजनिक गरी उपकुलपति छनोट गर्न प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपतिसमक्ष सिफारिस गर्ने तयारी भएको छ। मन्त्री पोखरेलले रिक्त रहेको विश्वविद्यालयको चाँडै उपकुलपति सिफारिस गर्ने जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘पहिलो चरणमा सूची र अनुभव अध्ययन गर्नेछांै, त्यसपछि मात्रै कुलपतिसमक्ष नाम सिफारिस गर्नेछांै।’

मन्त्रालयले कात्तिक ७ गते पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति र सेवा आयोगका अध्यक्ष, कृषि तथा वन विश्वविद्यालयको उपकुलपति र नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति, सेवा आयोगका अध्यक्ष र सदस्यका लागि संक्षिप्त व्यक्तिगत विवरण माग गरेको थियो। यस्तै ९ गते पोखरा, मध्यपश्चिम र

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति छनोट गर्न आन्तरिक सूची माग गरेको थियो।विश्वविद्यालयका सहकुलपति एवं शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आज सोमबारसम्ममा आवेदन दिनेको नाम सार्वजनिक गर्ने तयारी गर्न महाशाखालाई निर्देशन दिइसक्नुभएको छ।