म्याग्दी बस दुर्घटनामा ४ को मृत्यु

0
Shares

प्रताप बानियाँ, म्याग्दी।

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७, बिमको गलघण्टीमा आइतबार साँझ भएको यात्रुवाहक बस दुर्घटनामा परेर ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।दरबाङबाट गाउँका लागि छुटेको ग१ख ४४७६ नम्बरको बस दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

दुर्घटनामा परेर १८ जना घाइते भएका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिनुभयो। अधिकांश घाइतेको हातखुट्टा, टाउको, निधार, मेरुदण्ड, छाती तथा शरीरका भित्री तथा अन्य भागहरूमा चोटपटक देखिएको प्रहरीको भनाइ छ।

दुर्घटनामा परेर मृत्यु हुनेहरूमा मालिका–७, बिमकी ७० वर्षीया सतदेवी भट्टचन र ११ वर्षीया आयुसा जुग्जाली रहेको मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले जानकारी दिनुभयो। अन्य दुई जना मृतकको भने पहिचान खुल्न सकेको छैन। घाइतेहरूको अहिले प्राथमिक स्वास्थ्य केन्द्र दरबाङमा उपचार भइरहेको छ।

यसैबीच गम्भीर पाँच जनालाई थप उपचारका लागि बेनी अस्पतालमा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ भने एम्बुलेन्सलगायत अन्य सवारीसाधन तयारी अवस्थामा राखिएको छ।
सवारीचालक फरार रहेकाले दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरी निरीक्षक शर्माले बताउनुभयो।

दुर्घटनाको खबरलगत्तै इलाका प्रहरी कार्यालय दरबाङबाट प्रहरी निरीक्षक रामप्रसाद पाण्डेको नेतृत्वमा प्रहरी तथा स्थानीय जनप्रतिनिधि र सर्वसाधारणले घाइतेको उद्दार गरेका थिए। बस सडकबाट झन्डै २ सय मिटर तल खसेका बताइएको छ। बसमा कति जना सवार थिए भन्ने अझै यकिन भइसकेको छैन। यो समाचार तयार पार्दासम्म २६ जना घाइते भएको भनिए पनि १८ जनाबाहेक अन्यको पहिचान हुन सकेको छैन।