काठमाडौं, (नेस)।
संसद् सचिवालयकी कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको थुनछेक बहस समय अभावका कारण नटुंगिएपछि आज सोमबार पनि जारी रहने भएको छ। अभियुक्त महराविरुद्ध आइतबार तोकिएको उक्त बहस जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा चलेको थियो।
बहसमा वादीको तर्फबाट चार सरकारी वकिलले बहस टुंग्याए पनि प्रतिवादी महराको पक्षका कानुन व्यवसायीको तर्फबाट बहस नटुंगिएपछि सोमबार पनि बहस निरन्तर हुने भएको हो।
काठमाडौं जिल्ला अदालतका स्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले वादीको तर्फबाट सरकारी वकिलको बहस टुंगिए पनि प्रतिवादीको तर्फबाट बहस नटुंगिएकाले सोमबार १० बजे सुरु हुने गरी मुद्दा हेर्दाहेर्दैमा राखेको जानकारी दिनुभयो।
वादीको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता चन्द्रकान्त खनाल, जिल्ला न्यायाधिवक्तद्वय उमाकान्त पौडेल र हरिप्रसाद रेग्मी तथा सहायक जिल्ला न्यायाधिवक्ता सिर्जना ढकालले बहस गर्नुभएको थियो।
यस्तै प्रतिवादीको तर्फबाट ३२ जना कानुन व्यवसायीले बहसका लागि वकालतनामा लिएको इजलासले जनाएको छ। यसमा वरिष्ठ अधिवक्ताहरू रमण श्रेष्ठ, शेरबहादुर केसी, लवप्रसाद मैनाली, कृष्णप्रसाद सापकोटा, सविता भण्डारीलगायत हुनुहुन्छ। पहिलो दिनको बहसमा प्रतिवादीको तर्फबाट वरिष्ठ अधिवक्ता मैनालीले मात्रै बहस टुंग्याउनुभएको छ।
गत बिहीबार अदालतमा करणी उद्योगसम्बन्धी अभियोग दर्ता भएसँगै शुक्रबार महराको बयान सकिएको थियो। त्यसपछि थुनछेक बहस सुरु भएको छ। अभियुक्तलाई पुर्पक्षमा जेल चलान गर्ने या धरौटी वा साधारण तारेखमा रिहा गरी मुद्दाको पुर्पक्ष गर्ने भन्ने विषयमा इजलासले बहसपछि निर्णय लिनेछ।
प्रतिक्रिया