काठमाडौं, (नेस)।
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा भगवान कोइराला नियुक्त हुनुभएको छ।आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कोइरालालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
काउन्सिलमा अध्यक्ष पद रिक्त भएको झन्डै ६ महिना बित्न लाग्दा बल्ल सरकारले अध्यक्ष पदका लागि प्राडा कोइरालालाई नियुक्त गरेको छ। तर त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको पद खाली भएसँगै डा. कोइरालाको नाम १ नम्बरमा सिफारिस गरिएको थियो।
डा. कोइराला विगतदेखि नै चिकित्सा पेसा मात्र नभई प्रशासकीय क्षमतामा समेत पोख्त हुनुभएकाले उहाँको कार्यकालमा काउन्सिलमा विगतमा भएका कमीकमजोरी सुधार आउने विश्वास चिकित्सकको रहेको छ। काउन्सिलमा मनोनित अध्यक्ष, निर्वाचित उपाध्यक्षसहित १९ सदस्यीय कार्यसमिति रहने व्यवस्था छ।
सरकारबाट नियुक्त एक रजिस्ट्रारले सदस्य–सचिवको रूपमा काम गर्ने प्रावधान छ। काउन्सिलमा अध्यक्ष र अन्य सात सदस्य सरकारबाट मनोनित हुन्छन्। मनोनित सदस्य तथा पदाधिकारीका लागि स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषद्मा सिफारिस गर्नुपर्ने प्रावधान रहेको छ। काउन्सिलमा रजिस्ट्रार र ५ सदस्य पद अझै खालि छ।
प्रतिक्रिया