अपडेटः म्याग्दीमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु, १८ जना घाइते (घाइतेको नामावलीसहित)


प्रताप बानियाँ, म्याग्दी ।

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७, बिमको गलघण्टीमा आज साँझ भएको यात्रुबाहक बस दुर्घटनामा परेर चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।

दरबाङबाट गाउँका लागि छुटेको ग १ ख ४४७६ नम्बरको बस दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

दुर्घटनामा परेर मृत्यु हुनेहरुमा मालिका–७, विमकी ७० वर्षीया सतदेवी भट्टचन र ११ वर्षीया आयुसा जुग्जाली रहेको मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले जानकारी दिनुभयो । अन्य दुईजना मृतकको भने पहिचान खुल्न सकेको छैन ।

दुर्घटनामा परेर घाइते हुनेहरुमा मालिका–७, बिमका ६० वर्षीय राजमान दर्जी, ५३ वर्षीय हुमबहादुर जुग्जाली, ३८ वर्षीय पलप्रसाद जुग्जाली र २६ वर्षीया नरदेवी परियार रहेको प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिनुभयो ।

यसैगरी अन्य घाइतेहरुमा बेनी नगरपालिका–९, घतानका १६ वर्षीय बिसन खत्री, बेनपा–४, राक्सेका १७ वर्षीय गौरव पौडेल, १९ वर्षीय प्रमिस पौडेल, बागलुङ ताराखोला गाउपालिका–५, का १७ वर्षीय विजय कँडेल, मालिका–७, बिमका २६ वर्षीया दिलु शेरपुञ्जा, मालिका–६, दरबाङकी कृष्टिना जुग्जाली, ६१ वर्षीया तनदेवी जुग्जाली, ६० वर्षीया चन्द्रकली दर्जी, ३८ वर्षीया पलदेवी जुग्जाली, सोही ठाउँका अन्दाजी १७÷१८ वर्षीय शुरेश जुग्जाली र ३१ वर्षीया लिला जुग्जाली रहेको प्रहरी निरीक्षक शर्माले बताउनुभयो ।

त्यस्तै दुर्घटनामा परेर घाइते हुनेहरुमा धवलागिरी गाउपालिका–३, मुना दरका १८ वर्षीया रिलमाया बुढा, बेनी–३, भकिम्लीका ३५ वर्षीय केशव शर्मा न्युरे र मंगला–५ छिस्बाङका २२ वर्षीया रमिला खत्री रहेको उहाँले बताउनुभयो । अधिकांश घाइतेहरुको हातखुट्टा, टाउको, निधार, मेरुदण्ड, छाती तथा शरिरका भित्री तथा अन्य भागहरुमा चोटपटक देखिएको प्रहरीको भनाइ छ ।

घाइतेहरुको अहिले प्राथमिक स्वास्थ्य केन्द्र दरबाङमा उपचार भैरहेको छ ।

यसैबीच गम्भीर पाँच जनालाई थप उपचारका लागि बेनी अस्पतालमा ल्याउने तयारी भैरहेको प्रहरीले जनाएको छ भने एम्बुलेन्सलगायत अन्य सवारीसाधनहरु तयारी अवस्थामा राखिएको छ । सवारीचालक फरार रहेकाले दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरी निरीक्षक शर्माले बताउनुभयो ।

दुर्घटनाको खबरलगत्तै इलाका प्रहरी कार्यालय दरबाङबाट प्रहरी निरीक्षक रामप्रसाद पाण्डेको नेतृत्वमा प्रहरी तथा स्थानीय जनप्रतिनिधि र सर्वसाधारणले घाइतेको उद्दार गरेका थिए । बस सडकबाट झण्डै २ सय मिटर तल खसेका बताइएको छ । बसमा कति जना सवार थिए भन्ने अझै एकिन भैसकेको छैन । यो समाचार तयार पार्दासम्म २६ जना घाइते भएको भनिए पनि १८ जनाबाहेक अन्यको पहिचान हुन सकेको छैन ।