वैकल्पिक ऊर्जामा दिइने अनुदान व्यक्तिगतभन्दा समुदायमा दिनुपर्ने कुलमान घिसिङको सुझाव


न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ‘इनर्जी इफिसिएन्सी’ को क्षेत्रमा काम गर्न सरकारवाला सबै निकायसँग आग्रह गर्नुभएको छ ।

घिसिङले विद्युतको माग र आपूर्तिलाई सहज ढंगले अघि बढाउन प्राधिकरणले इनर्जी इफिसिएन्सीमा जोड दिएको उल्लेख गर्दै त्यसका लागि आवश्यक हुनेगरी पूर्वाधारको विकास गर्न वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको पनि ध्यानाकर्षण गराउनुभयो ।

आइतबार ललितपुरमा आयोजित सरोकारवाला निकायहरुसँगको छलफलमा भाग लिँदै उहाँले निजी क्षेत्रले पनि इनर्जी इफिसिएन्सीको क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणसँग मिलेर काम गर्नुपर्ने प्रस्ताव अघि सार्नुभयो ।

घिसिङले वैकल्पिक ऊर्जामा दिइने अनुदान व्यक्तिगतभन्दा समुदायमा दिन उपयुक्त हुने सुझाव पनि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रलाई दिनुभयो ।

प्राधिकरणले विद्युतको माग र आपूर्तिलाई सहज बनाउन इनर्जी इफिसिएन्सीको क्षेत्रमा काम गरिरहेको छ । कार्यकारी निर्देशक घिसिङले तीन वर्षभित्र देशभर विद्युत् पुर्‍याउने सरकारको लक्ष्य रहेको उल्लेख गर्दै त्यसलाई साकार पार्न पनि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र प्राधिकरणबीच मिलेर काम गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।