पूर्व सभामुख महराको मुद्दा हेर्दाहेर्दैमा


न्युज अफ नेपाल, काठमाडौं ।
संसद सचिवालयकी एक कर्मचारीलाई जबरजस्ती करणी उद्योग गरेको आरोपमा पक्राउ परेका महराको मुद्दा हेर्दाहेर्दैमा सरेको छ ।

अहिले बेञ्च बस्ने तयारी छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुरेन्द्रराज पाण्डेको इजलासमा आइतबार सरकार पक्षबाट ४ जना सरकारी वकिलले बहस गरेका थिए । महराको पक्षबाट वरिष्ठ अधिवक्ता लव मैनाली र अधिवक्ता भोजराज आचार्यले बहस गरे । महराको पक्षबाट बहस गर्न ५ जना वरिष्ठ अधिवक्तासहित ३५ जनाले वकालतनमा भरेका थिए । महराको पक्षबाट बहस बाँकी भएकाले सोमबार पनि थुनछेक बहस हुने छ ।

बहस सकिएपछि मात्र अदालतले साधारण तारिख, धरौटी वा थुनामा राख्ने आदेश दिनेछ ।

यसअघि प्रहरीको रायअनुसार जिल्ला सरकारी वकिलको कार्यालयले जबरजस्ती करणी उद्योगमा ७ वर्ष कैद सजायँ मागदावीसहित जिल्ला अदालतमा महराविरुद्ध मुद्दा दायर गरेको थियो ।

महराले भने बयानमा वारदात स्थलमा नपुगेको दाबी गरेका छन् । घटना भएको भनिएको घर छेउ पुगे पनि ती महिलासँग टेलिफोन सम्पर्क नभएपछि भित्र नछिरी फर्किएको उनको बयान छ । ती महिला कर्मचारीको एक भिडियोमा महराले जबरजस्ती करणी प्रयास गरेको र नमानेपछि आफूमाथि कुटपिट गरेको बताएकी छन् ।

भिडियो सार्वजनिक भएलगत्तै सभामुख पदबाट राजीनामा दिएका महरालाई प्रहरीले १९ असोजमा पक्राउ गरेको थियो । तर, स्वास्थ्यको कारण देखाउँदै उनी नर्भिक अस्पतालमा भर्ना भएर बसेका छन् ।