पूर्वसभामुख महराविरुद्धको थुनछेक बहस सुरु

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

यौन दुव्र्यवहारको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध अहिले भर्खरै थुनछेक बहस सुरु भएको छ । न्यायाधीस सुदर्शन पाण्डेको एकल इजलासमा महराको थुनछेक बहस सुरु भएको हो । जिल्ला अदालत काठमाडौंको १ नम्बर इजलासमा उनको सुनुवाई भइरहेको छ ।

बहसमा वादी नेपाल सरकार पक्ष भएकाले पीडितका तर्फबाट सरकारी वकिलले र प्रतिवादीका तर्फबाट निजी कानुन व्यवसायीले आ–आफ्नो पक्षमा बहस गरिरहेका छन् ।

बहस गर्न करिब २० जना वकिलहरुले वकालतनामा पेश गरेका छन् ।जिल्ला अदालत काठमाडौँ स्रोतबाट प्राप्त जानकारी अनुसार महराको पक्षमा बहस गर्न पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठको नेतृत्वमा करिब २० जना अधिवक्ताहरुले रुची देखाएका छन् ।

आज भइरहेको थुनछेक बहसमा महराको पक्षबाट बहस गर्न वरिष्ठ अधिवक्ता तथा पूर्व महान्याधिवक्ता रमण श्रेष्ठ, वरिष्ठ अधिवक्ता तथा नेपाल बारका पूर्व अध्यक्ष शेर बहादुर केसी तथा वरिष्ठ अधिवक्ताहरु लवप्रसाद मैनाली, कृष्णप्रसाद सापकोटा, सबिता भण्डारी बराल रहेका छन् ।

यस्तै महराको पक्षबाट बहस गर्न अधिवक्ताहरु मनिषकुमार श्रेष्ठ, मुरारीप्रसाद सापकोटा, रामकुमार आचार्य, नरेश खड्का, चन्द्र प्रसाद गुरागाई लगायत करिब २० जनाले वकालतनामा सहित रुची देखाएका छन् ।

आजको थुनछेक बहसमा वरिष्ठ वकिलहरुले मात्रै बहस गरी आज नै थुनछेक बहस सकाउने तयारी गरिएको बुझिएको छ ।