मैत्री खेलका लागि दुई नयाँ अनुहार

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक योहान कलिनले म्यानमारविरुद्धको अन्तर्राष्ट्रिय मैत्री खेलका लागि नेपाली टोलीको घोषणा शनिबार गरेका छन्। नेपालले आगामी बिहीबार म्यानमारविरुद्ध मन्डेलेमा मैत्री खेल खेल्दैछ। कलिनले दुई नयाँ अनुहारका सुवास गुरुङ र मिक्छेन तामाङलाई टोलीमा समेटेका छन्। मिडफिल्डर दुबैले पहिलो पटक राष्ट्रिय टोलीबाट डेब्यु गर्दैछन्।

यसैगरी कलिनले स्ट्राइकर भरत खवास र गोलकिपर एलान न्यौपानेलाई पुनः टोलीमा सम्मिलित गरेका छन्। त्रिभुवन आर्मीसँग आबद्ध रहेका भरत यसअघि सेनाको प्रशिक्षणमा व्यस्त हुँदा नेपाली टोलीमा समेटिएका थिएनन्। उनले नेपालका नियमित गोलकिपर किरण चेम्जोङ र मिडफिल्डर रोहित चन्दलाई ड्रप गरेका छन्।

दुबै जना अन्य क्लबमा व्यस्त भएका हुँदा यसपटक टोलीमा अटाउन नसकेका हुन्। यो खेल आगामी मंसीरमा नेपालमै हुने फिफा विश्वकप छनौट २०२२ तथा एएफसी एसियन कप अन्तर्गत खेलका लागि तयारीको रुपमा लिएको कलिनले बताएका छन्।

नेपालले आगामी मंसीरमा (नोभेम्बर १९) दशरथ रंगशालामा कुवेतसँग खेल खेल्दैछ।नेपालले यसअघि अवे खेलमा कुवेतसँग ७–० को हार बेहोरेको थियो। त्यस्तै चिनियाँ ताइपेइलाई हराए पनि नेपाल जोर्डन र अस्टे«लियासँग भने पराजित भएको थियो।

टोली यसप्रकारका छन्–गोलकिपरमा बिकेश कुथु, बिशाल श्रेष्ठ र एलान न्यौपाने, डिफेन्डरमा सरोज दाहाल, अजीत भण्डारी, दिनेश राजवंशी अनन्त तामाङ, देवेन्द्र तामाङ, रजीन धिमाल, सुमन अर्याल, मिडफिल्डरमा सुनील बल, रवि पासवान, सुजल श्रेष्ठ, बिक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, सुवास गुरुङ, मिक्छेन तामाङ तथा फरवार्डमा भरत खवास, बिमल घर्तीमगर, अभिषेक रिजाल र नवयुग श्रेष्ठ।