पश्चिमबाट उदाएका खडक बोहरा

0
Shares

विनोद सिंह विष्ट, बैतडी।

सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीलाई क्रिकेटको उर्वरभूमिका रूपमा चिनिन्छ। बैतडीका थुप्रै खेलाडीले अन्तर्राष्ट्रिय, राष्ट्रिय, क्षेत्रीय प्रतियोगिता खेलिसकेका छन्। जसमध्ये हालै उदाएका क्रिकेटर हुन् खडकबहादुर बोहरा।

उनी विकेटकिपर र ब्याट्म्यान हुन्। साथै वैकल्पिकरूपमा बलिङ पनि गर्छन्। बैतडीको दशरथचन्द नगरपालिका–२ देहिमाण्डौस्थित रजुन्ना गाउँमा विस२०५९ भदौ २५ गते जन्मिएका खडक हाल १९ वर्षमुनिको राष्ट्रिय क्रिकेट टिममा पर्न सफल भएका छन्।

सानैदेखि क्रिकेटप्रति लगाव भएका खडकले प्रशिक्षण बिनानै उनले अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका हुन्। देहिमाण्डौस्थित रजुन्ना गाउँमा हरेक घरका कम्तीमा पनि एक खेलाडीले जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता खेलिसकेका छन्। १२ महिना क्रिकेटमय हुने रजुन्ना गाउँमा जन्मिएका उनले अग्रजहरूको सिको गरेका हुन्।

दशरथचन्द प्रतिष्ठानपछि जिल्लाकै सबैभन्दा पुरानो क्लबका रूपमा चिनिने निङ्लाशैनी क्रिकेट क्लब (एनसीसी) मा खडक आबद्ध छन्। विस२०५६ सालमा बैतडी जिल्ला क्रिकेट संघमा दर्ता भएको क्लबले निरन्तररूपमा प्रतियोगिताको आयोजना गर्दै खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेलिरहेको छ।

क्लबले हालसम्म २ जना अन्तर्राष्ट्रिय, १० जना राष्ट्रिय र १ दर्जन बढी क्षेत्रीय खेलाडी जन्माएको छ। क्लबले जन्माएको पहिलो अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी मनोज जोशी हुन् भने दोस्रोमा खडक हुन्। क्लबको आर्थिक अवस्था कमजोर भएकोले प्रशिक्षक बिनानै प्रशिक्षण दिने गर्दथ्यो।

क्लबका अग्रज खेलाडीवाट क्रिकेटतर्फ आकर्षित भएका खडकले गाउँकै गौरा हुने सानो मैदानबाट खेल्न शुरू गरे। मोजाको बल र काठले घरमै बनाएको ब्याटले उनले क्रिकेट खेल्ने गर्दथे। एक्लै भएपनि उनले भित्तासँगै खेल्दै क्रिकेट शुरू गरे। यसका साथै उनले स्थानीय निङ्लाशैनी खेलमैदानमा पनि अभ्यासलाई निरन्तरता दिए।

खडक १० वर्षको उमेरमै एनसीसीमा आबद्ध भएका थिए। क्लबमा आबद्ध भएको दुई वर्षमै सिनियरलाई उछिन्दै जिल्लाकै चर्चित शुभकामना कप खेल्न क्लबवाट अन्तिम १४ मा स्थान सुरक्षित गरे। २०७१ सालमा भएको शुभकामना कपमा औपचारिकरूपमा क्रिकेट खेलको डेब्यु भयो।

डेब्यु खेल तथा प्रतियोगिताका अन्य खेलमा पनि सन्तोसजनकरूपमा खडकले प्रदर्शन गर्न नसक पनि सो क्लब च्याम्पियन बन्यो। नेपालका राष्ट्रिय क्रिकेटर विनोद भण्डारी, प्रदीप ऐरी, ललितसंह भण्डारी जस्ता खेलाडीले समेत खेलेको उक्त प्रतियोगितावाट उनले अनुभव बटुले।

निङलाशैनी बोर्डिङ स्कुलमा अध्ययन गरिरहेका खडकले सोही वर्ष लहानमा आयोजना भएको १६ वर्षमुनिको स्कुलस्तरीय प्रतियोगितामा खेले। उनले अर्काे वर्ष १६ वर्षमुनिको भैरहवामा प्रतियोगिता खेल्ने मौका पाए। बैतडी जिल्ला क्रिकेट संघले आयोजना गरेको बीडीसीए कप जिल्लास्तरीय सिनियर प्रतियोगिता पनि उनले खेल्ने मौका पाए।

बीडीसीए कपमा पहिलोपटक मौका पाएका खडकले डेब्यु खेलमै ५० रनको अर्धशतकीय पारी खेले।सोही अर्धशतकको मद्दतले उनलाई जिल्लामा सिनियर टोलीमा स्थान बनाउन पनि सहज भयो। त्यसपछि अर्को वर्षको बीडीसीए कपमा पनि अलराउन्डर प्रदर्शन गर्दै टोलीलाई उपाधि जिताउँदा उनी म्यान अफ द सिरीज घोषित भए।

सिनियर प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न थालेपछि खडकले क्रिकेटमै भविष्य खोज्न थाले र थप परिश्रम र अनुशासित भएर खेललाई अगाडि बढाउँदै गए। उनका घरपरिवार पनि क्रिकेट खेलप्रति सकारात्मक भएपछि उनले थप हौसला र सहयोग पाए।

बुबाको आर्थिक सहयोगका साथै काका वीरसिंह बोहराको पूर्णसमर्थनले क्रिकेटलाई निरन्तररुपमा अगाडि बढाउँदै गएका खडकले जिल्लाबाहिर पनि खेल्ने मौका पाउन थाले। दाँया हाते ब्याट्सम्यान खडक धनगढीमा सम्पन्न लिटिल सलवार प्रिमियर लिग (एलपीएल) मा एकमात्र सतकधारी खेलाडी हुन्। उक्त शतक एलपीएलको इतिहासमै पहिलो शतक हो। उनी प्रतियोगिताकै उत्कृष्ट ब्याट्सम्यानसमेत भएका थिए।

त्यसपछि उनले खेललाई अगाडि बढाउँदै गए र आठौं राष्ट्रिय खेलकुदमा सुदूरपश्चिम प्रदेशको टोलीबाट खेल्दै राम्रो प्रदर्शन गरे र उनी बेस्ट ब्याट्सम्यान चुनिए। यसका साथै प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा पनि खडक उदयीमान खेलाडी घोषित भए। यसका साथै चर्चित घरेलु क्रिकेट प्रतियोगिता धनगढी प्रिमियर लिग (डीपीएल)को तेस्रो संस्करणका लागि उनी ट्यालेन्ट हन्टमा समेत परेका थिए।

यस्ता सफलताले खडकलाई मलेसियामा हालै भएको १९ वर्षमनिको इस्टर्न रिजन क्रिकेट प्रतियोगिता खेल्न मौका पायो। सिंगापुरसँगको डेब्यू खेलमै उनले ९० रनको पारी खेले। ओपनिङ ब्याट्सम्यानका रूपमा खेल्ने उनले त्यसपछिका अन्य खेलमा भने सम्झन लायक प्रदर्शन गर्न सकेनन्। त्यसपछि उनले श्रीलंकामा एसिया कप खेल्न गए।

त्यहाँ उनले कुनै पनि खेल खेल्न पाएनन्। हाल खडकले काठमाडौंको कीर्तिपुरस्थित जनसेवा माविबाट कक्षा १२ पास गरिसकेका छन्। काठमाडौं पस्नु अघिसम्म कुनै पनि प्रशिक्षण नगरेका खडकले त्यसपछि काठमाडौंमा रहेको हिमालयन क्रिकेट एकेडेमी (एचसीए) मा प्रशिक्षण गरे। एकेडेमीमा खेल्दा पनि राम्रै खेल प्रदर्शन गरेका कारण उनले त्यहाँ पनि निशुल्करूपमा पशिक्षण गर्न पाए। हाल पनि उनि सोही एकेडेमीमा प्रशिक्षणमा छन्।

राष्ट्रिय सिनियर टोलीमा पर्नका लागी १९ वर्षमुनिको प्रतियोगिता आधार रहेको खडकले बताए। उनले भने– ‘अझै मेहनत गरेर सिनियर टोलीमा पर्नु छ। सिनियर टोलीबाट विश्वकप खेल्ने र मैरै उत्कृष्ट प्रदर्शनमा उपाधि उचाल्ने धोको छ।’ भारतीय क्रिकेट खेलाडी विरेन्द्र सेहबाग र विराट कोहली मन पराउने खडकले क्रिकेटमै भविष्य खोजिरहेको बताए।

क्रिकेटमै भविष्य खोज्दैछु उनले भने– ‘आफूमा क्षमता छ भने क्रिकेटमा पनि भविष्य छ।’ नेपाल क्रिकेट संघ (क्यान)को निलम्बन फुकुवा भएपछि ग्रासरुटदेखि प्रतियोगिता हुनुपर्ने उनको भनाइ रहेको छ। उनले भने “खेलाडीको सेवा सुबिधा पनि ध्यानमा राखी अब सबै लेभलका प्रतियोगिता निरन्तररूपमा सञ्चालन हुनपर्छ।