कन्टेनरमा भेटिएका शवमा केही भियतनामी भएको आशंका

0
Shares

लन्डन, (एजेन्सी)।

बेलायतको एसेक्समा एक कन्टेनरमा फेला परेका ३९ शवमध्ये कम्तीमा ६ भियतनाम नागरिकको हुन सक्ने बताइएको छ। गतमहिना फेला परेका ती सबै शव चिनियाँ नागरिक भएको अनुमान गरिएको थियो।भियतनामका ६ परिवारले मर्नेहरूमा आफ्ना नातेदार हुन सक्ने बताएको सञ्चार माध्यमले जनाएको छ।

यसमा २६ वर्षका फाम थी ट्रे मी परेका छन्। उनले अन्तिम पटक सन्देश पठाएकोमा श्वास लिन गाह्रो भइरहेको उल्लेख गरेका थिए। त्यसपछि उनका बारेमा कुनै सूचना आएको छैन। बीस वर्षका वियन लिन लुओंगका नातेदारले पनि उनी मर्ने ३९ मध्येकैमा हुन सक्ने आशंका गरेका छन्।

यसैबीच यस मामिलामा अनुसन्धान गर्ने क्रममा स्टेन्स्टेड विमानस्थलबाट एक व्यक्तिलाई गिरफ्तार गरिएको छ। उनलाई मानव तस्करीको षडयन्त्र गरेको र उनीहरूको हत्या गरेको आशंकामा गिरफ्तार गरिएको हो।
४८ वर्षका यी व्यक्ति उत्तरी आयरल्यान्डका हुन्। यस मामिलाको जाँचमा पक्राउ पर्ने उनी चौथो व्यक्ति हुन्। अनुसन्धानका क्रममा आशंकाका आधारमा वेरिंगटनका दुई व्यक्ति पनि पक्राउ परेका छन्। यस मामिलामा ट्रकका चालक पनि पक्राउमा परेका छन्।

फाम ट्रे मीका भाइ फाम नोक त्वानले उनकी बहिनीले बेलायत जानका लागि मानव तस्करहरूलाई ३० हजार पाउन्ड दिएकी बताएका थिए। उनकी बहिनीको अन्तिम पटक उनी बेल्जियममा भएको जानकारी आएको थियो।

यसबीच तस्करहरूले केही परिवारको पैसा फिर्ता गरेको समाचार पनि आइरहेको छ।आफ्नी बहिनी अक्टोबर २३ बाट बेपत्ता भएकी र उनीसँग सम्पर्क हुन नसकेको फाम ट्रेमीका भाइले बीबीसीलाई बताए। उनी ट्रकमा भएको हुन सक्ने आशंकामा आफूहरू चिन्तित रहेको उनले बताए।

उनले भने– ‘हामीले बेलायतका प्रहरीसँग मद्दतका लागि भनिरहेका छौं ताकि मेरी बहिनी परिवारमा फर्कन सकून्।’ फाम ट्रे मीका भाइले भने– ‘उनले चीनका लागि उडान भरेको र केही दिनसम्म त्यहाँ बसेर फ्रान्सका लागि प्रस्थान गरेकी थिइन्।’नयाँ ठाउँमा पुग्नेबित्तिकै आफूलाई फोन गर्ने गरेको र अक्टोबर १९ मा पहिलो पटक बेलायतको सीमापार गर्ने प्रयासमा पक्राउ परेको उनले बताए।

त्यसपछि उनलाई फिर्ता पठाएको तर कुन पोर्टबाट उनलाई फिर्ता पठाइएको भन्ने विषयमा आफूलाई यकिन नभएको भाइ फामले जानकारी दिए। भियतनाममा अन्य दुई जना पनि बेपत्ता भएको जानकारी आएको छ। त्यसमा एक २६ वर्षीय पुरुष र अर्को १९ वर्षीया महिला भएको बताइएको छ।

१९ वर्षीया महिलाका दाजुका अनुसार आफ्नी बहिनीले मंगलबार बिहान बेल्जियमबाट फोन गरी उनी एक कन्टेनरमा यात्रा गर्न लागेको बताएकी थिइन्। त्यसपछि उनको फोन स्वीच अफ भएको बताएकी थिइन्।

लन्डनस्थित भियतनाम दूतावासका प्रवक्ताले त्यसको पुष्टि गर्दै बिहीबारदेखि नै आफू एक्सेस प्रहरीको सम्पर्कमा रहेको बताए। ट्रकमा ३१ पुरुष र ८ महिलाको शव प्राप्त भएको थियो। एसेक्स प्रहरीले शुरूमा मृतक सबै चिनियाँ नागरिक भएको बताएको थियो। उनीहरूको शव बुधबार ग्रेजको वाटरग्लेड इन्डस्ट्रियल पार्कको इलाकामा फेला परेको थियो।