ह्यारीद्वारा विलियमसँगको सम्बन्धका बारेमा खुलासा

0
Shares

लन्डन, (एजेन्सी)।

बेलायतका राजकुमार ह्यारीले दाइ विलियम र आफ्नो मार्ग फरक भइसकेको र उनीबीचको सम्बन्धमा उतारचढाव आउने गरेको बताएका छन्। हालैका केही महिनामा ह्यारी र उनका भाइ राजकुमार विलियमबीच मनमुटावको खबर आइरहेको थियो। आईटीभीलाई दिएको अन्तर्वार्तामा ह्यारीले उनको हाई प्रोफाइल जीवन र परिवारसमक्ष दबाबका कारण उनीहरूबीच स्वाभाविक मनमुटाव आएको बताए।

आफ्नी पत्नी मेगन मार्कलसँग दक्षिण अफ्रिकाको भ्रमणका बेला उनले भनेका थिए– ‘हामी दाजुभाइ हौं र सधैं रहनेछौं। अहिले हाम्रो विचार अलग छ तर म उनको मद्दतका लागि सधैं तयार रहनेछु र ऊ पनि मेरा लागि तयार रहनेछ भन्ने मलाई थाहा छ।

हामी व्यस्तताका कारण पहिला जस्तो एक अर्कासँग भेटिरहन पाइँदैन तर म उनलाई अति नै माया गर्छु।’
राजकुमार ह्यारीले भने– ‘दाजु हुनुको नाताले उतारचढाव आउनु स्वाभाविक हो।’

यसअघि राजकुमार ह्यारीकी पत्नी मेगन मार्कल र राजकुमार विलियमकी पत्नी केट मिडल्टनबीच मनमुटावको समाचार पनि बाहिर आएको हो। पछिल्लो केही हप्तादेखि ह्यारीले बेलायतका सञ्चार माध्यमसँग पनि असन्तुष्टि पोख्दै आइरहेका छन्।

यसले बेलायतका केही ट्याबलाइडसँग उसको द्वन्द्व नै चलिरहेको छ। उनले ती अखबारहरूको रवैया नै उनकी आमा लेडी डायनाको निधनको प्रमुख कारण भएको र आफूमाथि पनि त्यस्तै व्यवहार देखाइरहेको आरोप लगाएका छन्।