जुवाडे पक्रिन गएका प्रहरीले नै रकम लुकाएपछि…

तीन प्रहरी निलम्बनमा

0
Shares

विजय नेपाली, पोखरा ।

कार्तिक ९ गते काग तिहारको दिन जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी जुवाडेलाई पक्राउ गर्न बैदाम पुगे जुवाडे त कारबाहीमा परे नै प्रहरी समेत कारबाहीमा परेका छन्।प्रहरी सहायक निरीक्षकसन्तोष सुवेदीको कमान्डमा खटिएको टोलीले रकम लुकाएको प्रस्ट भएसँगै जीवननाथ लामिछाने र अनिल ढकाललाई निलम्बन गरेको हो।

काग तिहारको दिन पोखरा ६ बैदामस्थित होटल क्रिस्टल प्यालेसबाट प्रहरीले ९ जनालाई पक्राउ गरेको थियो। उनीहरूको साथबाट नगद १० लाख ५८ हजार ५ सय १० रुपियाँसमेत बरामद गरेको थियो। पोखरा–६ पहारीमार्गस्थित छवि पौडेलले सञ्चालन गरेको होटल क्रिस्टल प्यालेसमा जुवा खेलाइरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले नगदसहित उनीहरूलाई पक्राउ गरेको छ।

उक्त स्थानमा पक्राउ गर्ने क्रममा खटिएका प्रहरीले नै रकम लुकाएको स्रोतले बताएको छ। पक्राउ गर्न गएका प्रहरीमध्ये तीन जना प्रहरीले रकम लुकाएको स्रोतको दाबी छ। ‘पक्राउ गर्न गएका इन्चार्जले नै रकम लिएका हुन्, बिदामा बसेका मान्छे जुवा पक्राउ गर्न आएका हुन्’ स्रोतले बतायो।

यस विषयमा अनुसन्धान गर्दा प्रहरीसमेत दोषी देखिएकाले तीन प्रहरीलाई निलम्बन गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम डीएसपी राजकुमार केसीले बताउनुभयो।
यस्तै लेखनाथमा मोटो रकम खाल भएको कौडा खेल्नेलाई पक्राउ गर्न गएका प्रहरीको पनि प्रहरीले नै सूचना दिएका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीको सादा पोसाकमा गएको प्रहरी टोलीले मंगलबार किमबिसीमा एक घरमा कौडा खेलेको जानकारी पाएसँगै इलाका प्रहरी कार्यालय सिसुवाको टोलीसँग समन्वय गरेर जाने क्रममा प्रहरीले नै प्रहरी आएको सूचना जुवाडेलाइ दिएको छ।

प्रहरी आएको खबर पाउनासाथ खालबाट सबै भाग्न थाले। कौडा खालमा करिब ४० लाख रुपियाँभन्दा बढी रहेको प्रहरीको अनुमान थियो। प्रहरीले उनीहरूलाई समात्न असफल भयो।
‘इलाका प्रहरीले नै सूचना फुत्कायो’–प्रहरी स्रोतले बतायो। कौडाको खालबाट भग्ने क्रममा स्कुटरबाट एक जना घाइतेसमेत भएको प्रहरी स्रोतको दाबी छ। तर कास्की प्रहरी प्रवक्ता केसीले भने उक्त कुरा झुटो भएको बताउनुभयो।