स्वास्थ्य संस्थामै सुत्केरीको मृत्यु

0
Shares

दयाराम पण्डित, बाजुरा।

त्रिवेणी नगरपालिका–१ छतारास्थित स्वास्थ्य चौकीमा उपचारकै क्रममा शनिबार बिहान एक सुत्केरीको ज्यान गएको छ। सुत्केरी भएको केही घण्टापछि छतारा स्वास्थ्य चौकीमै २७ वर्षकी रेजिया नेपालीको मृत्यु भएको अनमी सुमित्रा पाध्यायले बताउनुभयो।

रेजिया नेपाली चौथो सन्तान जन्माउन स्वास्थ्य संस्था पुगेकी थिइन्। सन्तान पाएको ६ घण्टापछि बेहोस भएर मृत्यु भएको अनमी पाध्यायको बताउनुभयो। घरबाट स्वास्थ्य संस्था ल्याएको २ मिनेटमै बच्चा जन्माएकी हुन्।

विहान साढे चार बजेसम्म अवस्था राम्रै थियो, पांच बजेपछि एकाएक बेहोस भएर ज्यान गएको सुत्केरी गराउनमा संलग्न रहेकी अनमी पाध्यायले बताउनुभयो। ‘विहान एक गिलास दूध र बिस्कुट खाइन्, बच्चालाई दुध खुवाइन्, त्यसको आधा घण्टापछि बेहोस भएर मृत्यु भयो’ –पाध्यायले बताउनुभयो।

कमजोरीका कारण बेहोस भएको हुन सक्ने स्वास्थ्यकर्मीको भनाइ छ। नेपाली गर्भावस्थामै जीप दुर्घटनामा परेर कमजोरी भएको आफन्तले बताउनुभएको छ। शरिरमा रगतको मात्रा कमी भएर नै कमजोरीले ज्यान गएको हुन सक्ने त्रिवेणी स्वास्थ्य शाखा संयोजक चिरञ्जीवी शाहको भनाइ छ।