महानगरवासीका लागि ४ घण्टा दण्ड प्रणाम

0
Shares

विराटनगर, (नेस) ।

विगत १६ वर्षदेखि छठपर्वको पूजाका लागि कठोर व्रत बस्दै आउनुभएका विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले यस वर्ष पनि छठको कष्ठकर व्रत बस्नुभएको छ।
निराहार व्रत बसेका मेयर पराजुलीले यसपटक पनि विराटनगर–३ स्थित शिवपञ्चायन मन्दिरबाट करिब साढे तीन किलोमिटर दण्ड प्रणाम गर्दै सिंघिया खोलामा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिनुभएको छ।

मेयर पराजुलीले शनिबार शिवपञ्चायन मन्दिरमा पूजा आराधाना गरी श्रीमती रञ्जिता पराजुली र भतिजा प्रमिस पराजुलीसँगै साढे १० बजे दण्ड प्रणाम गर्न शुरू गर्नुभएको थियो। ३ किलोमिटर दुरीको सिंघिया खोला पुग्न उहाँलाई करिब साढे ४ घण्टा लागेको मेयर पराजुलीका प्रेस सल्लाहकार कौशल निरौलाले जानकारी दिनुभयो।

पहिले पहिले आफ्नो र आफ्नो सन्तानकालागि व्रत बस्ने भएपनि यसवर्ष विराटनगरवासीको सुख र समृद्धिका लागि भगवानसँग कामना गर्ने मेयर पराजुलीले बताउनुभयो।दण्ड प्रणाम गर्दै गरेका मेयर पराजुलीलाई भेट्न उपमेयर इन्दिरा कार्की, कलाकार दीपाश्री निरौलालगायतका व्यक्तिहरू पनि पुगेका थिए।

कलाकार दीपाश्री निरौलाले धर्मकर्ममा आस्था राख्ने मेयर पराजुलीले लोककल्याणका लागि गरेको यो व्रत साँच्चै नै प्रेरणादायी र अकल्पनीय रहेको बताउनुभयो।मेयर भएपछि पराजुली अघिल्लो २ वर्षदेखि विराटनगरवासीको सुख र समृद्धिका लागि यस्तै कठोर व्रत बस्दै आउनुभएको छ। पराजुलीले विगत १५ वर्षदेखि दण्ड प्रमाण गर्दे आउनुभएको छ। आफूले गरेका भाकल पूरा भएमा र भाकल पूरा गराउन छठको दिन यसरी घस्रेर हिँड्ने गरिन्छ।