कोलम्बोमा अशोक सिलवालको ‘श्रीलंका स्मृति’

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

लेखक तथा पत्रकार अशोक सिलवालको पछिल्लो पुस्तक ‘श्रीलंका स्मृति’ श्रीलंकाको आर्थिक राजधानी कोलम्बोमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको छ।
श्रीलंका संसद्का सभामुख कारु जयासूर्या, श्रीलंका प्रेस एसोसिएसन (एसएलपीए)को अध्यक्ष मुदिता कारियाकार्वाना र इन्डियन फेडरेसन अफ वर्किङ जर्नालिस्ट (आईएफडब्लूजे)का अध्यक्ष बीभी मल्लिकार्जुनाले सिलवालको पुस्तक संयुक्तरूपमा सार्वजनिक गरेका हुन्।

एसएलपीएको ६४औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रममा विशिष्ट अतिथिका रूपमा निम्त्याइएका लाङटाङ सद्भावना दूतसमेत रहेका सिलवालको पुस्तक सोही कार्यक्रममा सार्वजनिक गरिएको हो। अघिल्लो वर्ष विशिष्ट अतिथिका रूपमा त्यहाँ निम्त्याइएका उनको त्यही बेलाको एकसाता लामो श्रीलंका यात्रा पुस्तकमा समेटिएको छ।

‘एक साताको श्रीलंका यात्रा मात्र होइन, त्यहाँ जानुपूर्वको तयारी, त्यहाँ पुग्दासम्मका अनेक भोगाइ, यात्रामा भेटिएका अनेक मानिस, संस्कृति र जीवनशैलीसँग जोडिएका मसिना सम्झनाको संग्रह हो यो पुस्तक,’ सिलवालले भन– ‘यो पुस्तक श्रीलंको परिचय होइन तर मैले चिनेको श्रीलंका भने पक्कै हो, जहाँ नेपालका जस्तै पहाडी बस्तीहरू थिए।

बुद्धका अनुयायी थिए। नेपालजस्तै राजनीतिको एउटा संक्रमण पार गरेर अर्को चरणमा प्रवेश गरेको स्थिति थियो। छिमेकी भारत थियो। चियाका बगानहरू थिए। मनमोहक तालहरू थिए, हरियाली वातावरण थियो।’ पुस्तकले दुई देशबीच अझ आत्मीयता थप्ने विश्वास पनि उनले व्यक्त गरे।

‘सगरमाथाको देशबाट सागरको देश र भुपरिवेष्ठित देशबाट समुन्द्रवेष्ठित देशमा गएको एउटा अन्वेषी यात्रुको कथा हो यो,’ आईएफडब्लूजेकी विदेश सचिव गीतिका तालुकदारले पुस्तकमाथि टिप्पणी गरिन्। नेपाल पर्यटन बोर्डको तर्फबाट ‘नेपाल भ्रमण वर्ष २०२०’ को निम्तोसमेत लिएर श्रीलंका पुगेका सिलवालले बुद्ध जन्मेको देश नेपाल र बुद्धप्रेमी देश श्रीलंकाबीचको हार्दिक सम्बन्धलाई पर्यटनमार्फत अझ बलियो बनाउन सकिने बताए ।