नारायणहिटीको ‘लमजुङ कक्ष’ भाडामा

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं।

नारायणहिटी संग्रहालयभित्रको लमजुङ कक्षलाई ड्रिङ्क्स र डिनरसहितको पार्टी गर्न मिल्ने गरी संरचना परिवर्तन गर्ने तयारी भएको छ।देशभरका ऐतिहासिक र पुरातात्विक संग्रहालयलाई संरक्षण गर्ने जिम्मेवारी लिएको संस्कृति मन्त्रालय र त्यसअन्तर्गतको पुरातत्व विभागमा दशकौं लामो इतिहास बोकेको नारायणहीटी र त्यसमा खोलिएको संग्रहालयलाई भाडामा दिने तयारी भएपछि कर्मचारीले आपत्ति जनाउन थालेका छन्।

गएको असोज ३ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, मन्त्रालयका सचिव केदारबहादुर अधिकारी र पुरातत्व विभागका कामु महानिर्देशक दामोदर गौतमसहितको टोलीले संग्रहालय अवलोकन गर्दै संग्रहालयको लमजुङ कक्षमा रहेको डाइनिङ हल भाडामा दिने गरी छलफल गर्न निर्देशन दिएका थिए।

अवलोकन गर्दै मन्त्री भट्टराईले हाल अवलोकन गर्नेबाहेक संग्रहालयको संरचना कामविहीन अवस्थामा रहेको सो कक्षलाई नेपाल भ्रमण वर्ष सन् २०२० को शुरुआतमै खोल्ने गरी तयारी गर्न निर्देशन दिनुभएको थियो।९० सिट भएको डाइनिङ हल अत्याधुनिक छ।

राजा त्रिभुवन, महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रले विदेशी पाहुनालाई सोही हलमा रात्रिभोज दिने व्यवस्था थियो। नेपालका राष्ट्रप्रमुखको हैसियतले राष्ट्रप्रमुखले ड्रिङ्स टोस्ट गरेपछि सो हलमा पार्टी सञ्चालन हुने गरेको थियो।‘पछिल्लो समय होटल सोल्टीबाट सो हलमा खानेकुरा ल्याउने र सर्भ गर्ने गरिन्थ्यो।

तर अहिले शाहकालीन ऐतिहासिक हललाई शुल्क तिरेर खान मिल्ने गरी खोल्ने तयारी गरिएको छ।’ –संग्रहालयका एक कर्मचारीले भने।अवलोकन भ्रमण गर्दा ती अधिकारीले डाइनिङ हलमा राखिएको सामग्रीसमेत परिवर्तन गर्न आग्रह गरिएको थियो। अधिकांश सामग्रीमा शाही निशाना अंकित चिह्न राखिएको छ।

शाही चिह्न अंकित मेचको चिह्न तत्काल हटाएर कुर्सी प्रयोग गर्न सुझाइएको थियो।तर, कर्मचारीले ऐतिहासिक संग्रहालयमा रहेको कुर्सीको चिह्न हटाउन नहुने बताएका थिए।मन्त्री भट्टराईले लमजुङ कक्ष मात्र नभई तत्कालीन राजा वीरेन्द्रले सार्क सम्मेलनमा आएका राष्ट्रप्रमुखलाई पार्टी खुवाउन मिल्ने गरी निर्माण भएको फोहरा बगैंचा पनि पार्टी सञ्चालन गर्नुपर्ने तर्क राख्नुभएको थियो।

दिउँसो बगैंचा र राति लमजुङ कक्षमा पार्टी गर्न मिल्ने सुझाव मन्त्रीले दिनुभएको थियो।मन्त्री, सचिव र विभागका कामु महानिर्देशकको टोलीले नारायणहिटी संग्रहालय अवलोकन गरेपछि असोज ५ गते सांग्रिला होटलको व्यवस्थापकसहितको टोली संग्रहालयको लमजुङ कक्षको अवलोकन गर्न पुगेको थियो।

होटलको सेफसहितको टोलीले भ्रमण वर्षमै व्यवस्थापन गर्ने तयारी भइरहेको बताएका थिए।मन्त्रालयले नारायणहिटीको इतिहासलाई बिगार्ने गरी संग्रहालयको महत्वपूर्ण कक्षलाई भाडामा दिने तयारी भएपछि कर्मचारीले विरोध जनाउन थालेका छन्।

उनीहरूले संग्रहालयलाई थप व्यवस्थित गर्न छाडेर एउटा होटललाई भाडामा दिने तयारी गर्नु सरकारको गलत नियत देखिएको आरोप लगाएका छन्। हल तयार भएपनि सो कक्षमा शौचालय छैन। नजिकैको पश्चिमतर्फको शौचालयलाई निर्माण गर्न निर्देशन दिएको थियो।

हाल पुरातत्व विभागको मातहतमा रहेको नारायणहिटी दरबार संग्रहालयलाई सरकारले विकास समितिमा लैजाने अन्तिम तयारी भइसकेको छ। विभागमा कामु महानिर्देशक दामोदर गौतमले संग्रहालयलाई आर्थिक रुपमा सक्षम बनाउन केही स्थान र कक्ष भाडामा दिने तयारी भइरहेको बताउनुभयो।

‘अहिले अध्ययन मात्र गरेका हांै, कुन प्रयोजनमा कसरी दिने भन्ने विषयमा कुनै निर्णय भइसकेको छैन’ –उहाँले भन्नुभयो।‘पहिला कार्यविधि बनाउनुपर्यो, त्यसपछि मात्रै भाडमा दिने विषयमा निर्णय गर्न सकिन्छ’ –उहाँको भनाइ थियो। संग्रहालयलको केही कक्षलाई भाडामा सञ्चालन गर्न अनुमति दिनुपूर्व नेपाली सेनासँग छलफल गर्नुपर्छ।

अति महत्वपूर्ण र संवेदनशील मानिएको संग्रहालयको कक्षलाई भाडामा दिँदा सरोकारवाला सबै निकायसँग छलफल गरेर मात्रै काम अघि बढाउने गौतमको भनाइ थियो।घाटामा सञ्चालन भइरहेको संग्रहालयलाई आर्थिक रुपमा सबल बनाउन र केही संरचना निर्माण गर्न सहज हुनसक्ने देखिएपछि केही कक्ष भाडामा दिने विषयमा छलफल भएको विभागको भनाइ छ।

संस्कृति मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले सो विषयमा प्रारम्भिक छलफल मात्रै भएको बताउनुभयो। ‘भाडामा दिन मिल्ने हो वा होइन भन्ने विषयमा अन्य मन्त्रालय र निकायसँग पनि छलफल गर्नुपर्नेहुन्छ, त्यसैले केही विषयमा छलफल गर्नुपर्ने भएपछि संग्रहालय अवलोकन गर्न गएका हांै’ –उहाँको भनाइ थियो।

करिब ७ सय ५४ रोपनी क्षेत्रफलमा फैलिएको संग्रहालय परिसरमा विभिन्न प्रयोजनका लागि नेपाली सेनाले विभिन्न संरचना निर्माण गरिसकेको छ। सोही जग्गामा सरकारले गणतन्त्र स्मारक निर्माण गरेको छ। हाल नारायणहिटी सग्रहालय ३ सय १८ रोपनी क्षेत्रफलमा मात्रै सीमित छ।

राजा पृथ्वी वीरविक्रम शाहको शासनकालमा तत्कालीन राणा प्रधानमन्त्री रणोद्धिप शाहको पालामा निर्माण भएको दरबार १९९० सालको भूकम्पले क्षति पुर्याएको थियो। पछि तत्कालीन राणा प्रधानमन्त्री वीरशमशेरको कार्यकालमा हालको प्यागोडा शैलीको दरबार निर्माण गरिएको थियो।

हालको दरबार २०२६ सालमा अमेरिकी वास्तुकार बेन्जामिन पोल्कको नक्सामा पुनर्निर्माण भएको थियो। हाल देखिएको र संग्रहालय रहेको दरबार राजा महेन्द्रको पालामा पुनर्निर्माण गरिएको थियो।

राजा त्रिभुवन, महेन्द्र, वीरेन्द्र, दीपेन्द्र र ज्ञानेन्द्रसम्मका राजा र अन्य धेरै राजपरिवारका सदस्य जन्मेको सो संग्रहालयको सबै कक्ष खुला गर्न सकिएको छैन। अहिले ३१ कक्ष, श्रीपेच, राजदण्ड, राजमुकुटलगायत महत्वपूर्ण सामग्री प्रदर्शनीमा राखिएको छ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०६५ साल असार १ गते नारायणहिटी दरबारलाई संग्रहालय बनाउने घोषणा गर्नुभएको थियो। त्यसलगत्तै २०६५ फागुन १५ देखि संग्रहालयका रुपमा सर्वसाधारणका निम्ति खुला गरिएको थियो।

  •  सशुल्क रात्रिकालीन पार्टी सञ्चालन हुने
  •  सांग्रिला होटललाई दिने योजना
  •  फोहरा बगैंचा पनि भाडामा दिने मन्त्रीको मनसाय