नेकपाले उम्मेदवार टुंगो लगाउँदै

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउने गृहकार्य शुरू गरेको छ। उपनिर्वाचन हुने क्षेत्रबाट उम्मेदवारको सिफारिस भएसँगै नेकपाले उम्मेदवार टुंगो लगाउने काम अगाडि बढाएको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सचिवालय बैठकले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका प्रमुखको उम्मेदवारको घोषणा गर्नेबारेमा गृहकार्य अगाडि बढाएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो।

उहाँका अनुसार आइतबार बस्ने बैठकले उम्मेदवारहरूको टुंगो लगाउनेछ। बैठकमा तल्लो तहबाट आएका उम्मेदवारको सिफारिसमा प्रारम्भिक छलफल भएकोबताउँदै उहाँले क्षेत्रीय निर्वाचन समन्वय समिति, जिल्ला कमिटी र प्रदेश कमिटीबाट आएका सिफारिस अध्ययन भइरहेको जानकारी दिनुभयो।

यसअघि बसेको सचिवालय बैठकले उम्मेदवार सिफारिस गर्दा तल्लो तहलाई कम्तीमा तीन जनाको नाम भने पनि कतिपय ठाउँबाट एक जनाको नाममात्र पनि सिफारिस भएको छ। बैठकमा कास्की क्षेत्र नम्बर २, तीनवटा प्रदेशसभा र रिक्त स्थानीय तहमा मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्नेबारे सचिवालयले गृहकार्य शुरू गरेको छ।

प्रवक्ता श्रेष्ठका अनुसार बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराउनुभएको छ। प्रधानन्त्रीको भनाइ उद्धृत गर्दै उहाँले भन्नुभयो– ‘म सिकिस्त भएको होइन, तर केही समस्या देखापरेका कारणले परीक्षण भइरहेको छ, केही परीक्षणको रिपोर्ट आउन बााकी छ, रिपोर्ट प्राप्त भएपछि उपचारका अरू माध्यमका बारेमा आवश्यक निर्णय हुन्छ।’

प्रधानमन्त्री ओलीले आफू सिकिस्त बिरामी नभएको जनकारी गराउँदै तर मिर्गौलाले राम्रोसँग काम नगरेकाले अब नियमित डायलासिस वा पुनः प्रत्यारोपण मात्र विकल्प रहेको जानकारी गराउनुभएको बताइएको छ।

प्रधानमन्त्री ओलीले आफ्नो उपचारमा अबको विकल्प नियमित डायलासिस र प्रत्यारोपण मात्र भएको समेत पार्टीका नेताहरूलाई ब्रिफिङ गर्नुभएको थियो।
ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो।

त्यसयता नियमित औषधि खाइरहनुभएका उहाँको गत साउनमा सिंगापुरमा स्वास्थ्य परीक्षण गरेर स्वदेश फर्किएलगत्तै पुनः भदौमा फेरि सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा फेरिसस प्लाज्माफेसेसिस प्रक्रियामार्फत रगतमा भएको ‘एन्टीबडी’ निकालिएको थियो।