समाजलाई उत्पादनमुखी बनाउनु पर्ने मन्त्री गुरुङकाे भनाई 


कास्की ।
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले वर्तमान समाजलाई उत्पादनमुखी बनाउन सके मात्र देशले परिणाममुखी नतिजा निकाल्न सक्ने बताउनुभएको छ ।

पोखरा महानगरपालिका–१६ स्थित हिमालय क्लबको २३औँ स्थापना दिवसको अवसरमा आज आयोजित रक्तदान तथा चियापान कार्यक्रममा बोल्दै उहाँले मुलुकका सबै जातजातिका संस्कृतिलाई राष्ट्रिय सम्पदाको रूपमा लिनुपर्ने बताउनुभयो ।

समाज परिवर्तनमा सामाजिक सङ्घसंस्थाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उहाँले समृद्ध नेपाल निर्माणका लागि उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । कार्यक्रममा स्थानीय यादवचन्द्र देवकोटाद्वारा स्थापना गरीएको र क्लबबाट सञ्चालित स्व नरहरि देवकोटा स्मृति समाजसेवा पुरस्कारबाट पोखरा–१९ निवासी गोविन्दबहादुर क्षेत्रीलाई नगद रु १५ हजारसहित दोसल्ला र सम्मानपत्रले सम्मानित गरिएको थियो ।

सोही अवसरमा सावित्री लीलाधर अधिकारी स्मृति कृषक पुरस्कारबाट पोखरा–१६ महेन्द्रगुफा निवासी पार्वती आचार्यलाई नगद रु चार हजार, दोसल्ला र सम्मानपत्रबाट सम्मानित गरिएको थियो । सो अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५० रक्तदाताले रक्तदान गर्नुभएको थियो भने पायल्स, फिष्टुला तथा फिसर शिविरमा ३३ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य शिविरमा डा कमल शर्माले बिरामीको स्वास्थ्य परीक्षण गर्नुका साथै करीब ६० हजार मूल्य बराबरको निःशुल्क औषधि वितरण गरिएको थियो ।

कार्यक्रममा पूर्वसांसद सोमनाथ अधिकारी प्यासी, प्रदेशसभा सदस्य कृष्ण थापा, प्रभा कोइराला र पुष्पा केसी भण्डारी, नेपाली काङ्ग्रेस कास्कीका कोषाध्यक्ष लक्ष्मी पाण्डे, पोखरा–१६ का वडाध्यक्ष जीवनप्रसाद आचार्य, हिमालय क्लबका अध्यक्ष मोहनबहादुर थापा, सम्मानित व्यक्तित्व लायन गोविन्दबहादुर क्षेत्रीलगायतले सामाजिक क्षेत्रमा क्लबले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।

रासस