भारतीय ओभरलोड नियन्त्रणका लागि तौलपुल कार्यविधि कडाईकासाथ कार्यान्वयन गराउन व्यवसायीको माग


यमलाल भुसाल, बुटवल ।

नेपाल ट्रक यातायात व्यबसायी महासंघले भारतीय ओभरलोडका मालबाहक गाडीहरु निर्वाध रुपमा नेपालमा सञ्चालन गरिँदा नेपाली व्यबसायीहरुको लगानी असुरक्षित बन्दै गएको ठहर गरेको छ । महासंघको शनिबार रुपन्देहीमा बसेको बैठकले तौलपुल कार्यबिधि अनुसार नेपाली तथा भारतीय गाडीहरु सञ्चालन गर्ने वातावरण मिलाउन सरकारसंग माग गरेको छ ।

भारतीय गाडीहरु निर्वाध रुपमा ओभरलोड बोकेर नेपाल प्रवेश गर्दा नेपाली सडक पनि बिग्रिदै जाँने र नेपाली व्यबसायीले पनि काम बिहिन हुने स्थिती आएकाले महासंघले सरकारको ध्यानाकर्षण गराएको हो ।

महासंघका वरिष्ठ उपाध्यक्ष एवं दुर्घटना न्यूनिकरण तथा पार्किङ् व्यबस्थापन समितिका संयोजक लोकराज पोखरेलको अध्यक्षतामा बसेको बैठकमा सहभागि पदाधिकारी तथा सदस्यहरुले भारतीय ओभरलोड गाडीका कारण नेपाली व्यबसायीको पेशा संकटमा परेको बताउँदै ओभरलोड नियन्त्रणकालागि महासंघले पहलकदमी उठाउनु पर्ने सुझाव पेश गरेका थिए ।

बैठकमा नेपाल सरकारले तय गरेको भाडा कार्यान्वयन गर्नुपर्ने, क्षमता अनुसार भारबहन हुनुपर्ने लगायतका विषयमा छलफल भएको थियो । बैठकले यहि कात्तिक २२ गते हेटौडामा बस्ने बैठकले थप कार्यविधि तय गर्ने र सोही कार्यविधि अनुसार महासंघ अंगाडी बड्ने निर्णय भएको महासचिव राजेन्द्रबिक्रम बानियाँले जानकारी गराउनु भयो ।