शंखमुलमा प्राचीन शैलीको चारतारे होटलस्तरको ‘यल दरवार’


न्यूज अफ नेपाल, काठमाडौँ ।

ललितपुर महानगरपालिका ९ गछेंटोलका पाँचजना महर्जन युवाव्यवशायीहरुले शंखमुल पुल नजिक प्राचीन मल्लकालीन दरवार शैलीमा चारतारे होटलस्तरको ‘यल दरवार भेन्यु’खोलेका छन् । यल दरवारको अर्थ नेपालीमा ‘पाटन दरवार’हो ।

यल दरवारको औपचारिक उद्घाटन आउँदो माघ अर्थात सन् २०२० को जनवरीमा गर्ने तिथितय भएतापनि यही कात्तिक २९ देखि नै दरवार सञ्चालनमा आउने भएको छ ।

परम्परागत मौलिक कला, संस्कृति र सम्पदाको संरक्षण समेत गर्ने उद्देश्यले खोलिएको यल दरवार सम्पदा र संस्कृतिप्रेमीहरुको लागि समेत आर्कषण र चासोको विषयबन्ने सञ्चालकहरुको दावी छ ।

विभिन्न व्यवसायमा संलग्न रहेका युवा व्यवशायीहरु रवि महर्जन, राकेश महर्जन, सुनिल महर्जन, विकास मर्हजन र विनोद महर्जनको ६० प्रतिशत र ४० प्रतिशत स्थानीय गछेंका टोलवासीको लगानी रहेको यल दरवारमा पाँचतारे होटेलमा उपलव्ध सबै सुविधा उपलव्ध रहेको सञ्चालक विकास महर्जनले बताए । यल दरवार भेन्यु प्रा.लि.को अध्यक्षमा रवि महर्जन र प्रवन्ध संचालकमा सुनिल महर्जन रहेका छन् ।

तेलिया इँटा, दाँचि इँटा जस्ता परम्परागत कलात्मक बुट्टे इँटामा चुनासुर्कीको प्रयोग गरिप्रायःलोप भईसकेको झिंगटी, पुराना शैलीका काठका झ्याल ढोका, काठ र फलामको प्रयोग गर्दै मल्लकालीन प्राचीन दरवारको शैलीमा सो यल दरवार बनाइएको अध्यक्ष रवि महर्जनले बताए ।

यल दरवारमा प्रयोग गरिएका सम्पुर्ण कलात्मक बुट्टे इँटा भक्तपुरको दधिकोटस्थित श्री दक्षिण वाराही परम्परागत इँटा उद्योग र सतुंगलस्थित ओमश्री मच्छिन्द्रनाथ इँटा उद्योगमा उत्पादनगरिएको हो ।

मंगलबजार चोकस्थित कृष्णमन्दीर परिसरको रानीपोखरीमा जस्तो कलात्मक रंगीनपानीको फोहोरा (फाउण्टेन) को समेत सो दरवारको प्रांगणमा जडान गरि दरवारलाई अझ आकर्षित र मनमोहक बनाइएको छ ।

एकैपटकमा दुईहजार जना अतिथि अटाउन सक्ने मुख्य हल र तीनवटा सेमिनार हल रहेको सो दरवारमा उचित मुल्यमा ताजा र स्वस्थकर खाना, नेवारी सुकुलभोज समेतको व्यवस्था, खुल्ला र रमणीय वातावरण, एक सय पचास वटासम्म गाडी पार्किङ्ग गर्न मिल्ने पार्किङ्गस्थल, केटाकेटीका लागि खेलमैदान, अपाङ्ग र जेष्ठ नागरिकहरुका लागि विद्युतिय भर्याङ्ग (स्केलेटेर) को व्यवस्था गरिएको प्रवन्धनिर्देशक सुनिल महर्जनले बताए ।

‘हामीले जेष्ठ नागरिक र अपाङ्गहरुका लागि एकतल्लामाथिसम्म जानको लागि संभवत् नेपालमै पहिलोपल्ट विद्युतिय भर्याङ्ग (स्केलेटेर) को प्रयोग गरेका छौं भने अन्य पाहुनाका लागि लिफ्टको व्यवस्था गरेका छौं’—सञ्चालक विकास महर्जनले भने । यसअघि पार्टी प्यालेस र तारे होटेलमा लिफ्टको व्यवस्था गरिएता पनि स्केलेटरको प्रयोग गरिएको छैन ।

करीव १० रोपनी क्षेत्रफलमा फैलिएको उक्त यल दरवारमा कामगर्ने कर्मचारीको सामान राख्नको लागि अलग/अलग लकरको सुविधा, खानापकाउनु अघि र काम गरेर फर्किने बेलामा नुहाउने सुविधा, राती अवेरसम्म कामगर्नेकर्मचारीका लागि आवासको सुविधाको साथै कार्यस्थलमा मोवाइलफोनको प्रयोग गर्न नपाइने नियमसमेत राखिएको छ । यसो गर्दा खानापकाउने र खानाखाने ठाउँ पुर्णरुपमा स्वस्थकर र सफा हुने र कर्मचारीहरु आफ्नो काममा दत्तचित्तहुने दरवार प्रशासनको दावी छ । यल दरवारमा धोएर सफागरिएका गिलास र प्लेटहरु मेशीनमै सुकाउने व्यवस्था पनि मिलाइएको छ ।

यल दरवारले भोजको लागि ठाउँ र स्वस्थकर ताजा खाना मात्रै व्यवस्था गर्दैन, साथ साथै पास्नी, व्रतवन्ध, विहे, बर्थडे, म्यारिज एनिभर्सरी, जंकु लगायत जुनसुकै औपचारिक कार्यक्रमको लागि आवश्यक पर्ने सम्पुर्ण व्यवस्था पनि मिलाउने गरी ‘इभेन्ट म्यानेजमेण्ट’को समेत कार्य गर्ने सञ्चालक विकासले बताए ।

यल दरवार भेन्यु सञ्चालनमा आएपछि यसबाट प्राप्तहुने कूलनाफाको एक प्रतिशत रकम भैपरि आउने र सामाजिक कार्यको लागि खर्च गरिने गरि छुट्टयाउने व्यवस्था मिलाइएको छ ।