यल कपका विजेतालाई पुरस्कार

0
Shares

नेपाल समाचारपत्र, ललितपुर।

यस वर्षको ११औं यल कप ब्याडमिन्टन प्रतियोगिताका विजयीहरूलाई पुरस्कार तथा शिल्ड प्रदान गरियो। मंगल टोल सुधार समितिको आयोजनामा मंगल बजारस्थित आदर्श कन्या निकेतन विद्यालय परिसरमा कात्तिक २ देखि ९ गतेसम्म सो प्रतियोगिता भएको थियो। प्रतियोगिताको अन्तिम दिन गत शनिबार प्रदेश नं ३ का उपसभामुख राधिका तामाङले विजयीलाई प्रमाणपत्र तथा शिल्ड प्रदान गर्नुभयो।

दुई वटा कोर्ट र चार इभेन्टमा प्रतिस्पर्धा भएको थियो। प्रतियोगितामा ललितपुरका विभिन्न वडाका ४२ टोलका करिब १ सय ६० जना खेलाडीले भाग लिएका छन्। प्रतियोगितामा नागबहालको अग्रता कायम रह्यो। जसमा यू–१५ सिंगलमा नागबहालका सहज शाक्य प्रथम, श्रवण शाक्य द्वितीय, सुजल शाक्य र पुजन शाक्य तृतीय हुनुभएको छ।

मेन्स डबल्समा नागबहालका सनिल शाक्य र सुमन शाक्य प्रथम, नागबहालकै सुमित शाक्य र ससिन डंगोल द्वितीय हुनुभएको छ। त्यसैगरी तृतीय हुनेहरूमा नागबहालकै विपिन शाक्य र सुसन शाक्य र दथुंलका राजु बज्राचार्य र सुमित डंगोल तृतीय हुनुभएको छ।

भेट्रान्स मेन्स डबल्समा मंगल टोलका वीरेन्द्रलाल श्रेष्ठ र किशोर व्यञ्जकार प्रथम, नागबहालका सुदिम शाक्य र प्रवीण शाक्य द्वितीय, तृतीय हुनेहरूमा प्रयाग पोखरीका सुरेश बाराही र पूर्ण चित्रकार, नागबहालका सुमन शाक्य र सुनिल शाक्य रहनुभएको छ।

त्यसैगरी मिक्स डबलमा प्रथम हुनुहुनेमा नागबहालका सुमन शाक्य र रश्मी शाक्य रहनुभएको छ। त्यस्तै द्वितीय हुनेमा नागबहालका सनिल शाक्य र लसता शाक्य, तृतीय हुनेमा नागबहालकै ससिन डंगोल र रुची बज्रचार्य र दथुंलका राजु बज्राचार्य र यास्ना डंगोल रहनुभएको छ।

प्रतियोगितामा सम्पूर्ण खेलका विजेता, उपविजेता र तेस्रो हुने खेलाडीलाई शिल्ड, मेडल, प्रमाणपत्रका साथै नगद पुरस्कारको व्यवस्था गरिएको थियो। १५ वर्ष मुनिका सिंगल्सतर्फ शीर्ष तीन हुनेले क्रमशः ८ हजार, ४ हजार र २ हजार रुपियाँ, मिक्स डबलमा शीर्ष तीन भएकाले क्रमशः १५ हजार, ८ हजार र ४ हजार रुपियाँ, मेन्स डबल्समा शीर्ष तीनमा आएकाले क्रमशः ५० हजार, २० हजार र १० हजार रुपियाँ तथा भेट्रान्स युगलका विजेताले क्रमशः १५ हजार, ८ हजार र ४ हजार रुपियाँ प्राप्त गरेका हुन्।

पुुरस्कारको कूल नगद राशी २ लाख १५ हजार रुपियाँ रहेको छ।सो अवसरमा ३ नं प्रदेशका उपसभामुख राधिका तामाङले प्रदेशको खेलकुद विकासमा ललितपुर जिल्लाको महत्वपूर्ण योगदान पुर्याउन सक्ने चर्चा गर्दै यसका लागि आवश्यक सहयोग गर्न तत्पर रहेको बताउनुभयो।

समारोहमा प्रतियोगिताका संयोजक एवं समितिका महासचिव वीरेन्द्रलाल श्रेष्ठले खेलले विशेषतः ललितपुर (पाटन) का युवावर्ग र किशोर किशोरीको ब्याडमिन्टन खेलतर्फ आकर्षण बढाउँदै कुलतमा लाग्ने सम्भावनालाई न्यूनीकरण गरेको धारणा राख्नुभयो।

यस प्रतियोगिताका लागि ललितपुर महानगरपालिका–१६ ले दुई लाख र १२ वडा कार्यालयले १ लाख रुपियाँ सहयोग गरेको समितिले जनाएको छ। कलाको नगरीले परिचित यस ललितपुरलाई किराँतकालदेखि नै ‘यल’ शहरको नामले चिनिन्छ।

यसै यलको नाउँबाट स्थापित यल कप ब्याडमिन्टन प्रतियोगिता विगत १० वर्षदेखि सञ्चालन हुँदै आइरहेको छ। आगामी वर्षको प्रतियोगिता सञ्चालन गर्ने जिम्मेवारी दौबहाल टोल सुधार समितिले लिएको छ।