युभेन्ट्सको जित रोनाल्डो नायक

0
Shares

लन्डन, (एजेन्सी) ।

इटालियन सिरी ‘ए’अन्तर्गत खेलमा पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो नायक बनेपछि युभेन्ट्सले जेनोआलाई २–१ ले हराएको छ। बुधबार राति भएको खेलको इन्ज्युरी समयमा रोनाल्डोले पेनाल्टीमार्फत निर्णायक गोल गरेपछि युभेन्ट्सले जित दर्ता गरेको हो। जितपछि इन्टर मिलानलाई पछि पार्दै युभेन्ट्स पुनः शीर्षस्थानमा उक्लेको छ। १० खेलपछि युभेन्ट्सको २६ र इन्टर मिलानको २५ अंक छ।

खेलको ३६ औं मिनेटमा लियोनार्दोको हेड गोलमा युभेन्ट्सले खेलमा अग्रता लिएको थियो। तर, चार मिनेट बित्न नपाउँदै क्रिस्टियन काउमेले गोल गर्दा पहिलो हाफ १–१ को बराबरीमा टुंगिएको थियो। दोस्रो हाफमा दुवै टोली १० खेलाडीमा सीमित भएका थिए।

५१ औं मिनेटमा फ्रान्सिस्को कास्लाल्टाले दोहोरो पहेलो कार्डपछि रातो कार्डको सामना गरे। ५७ औं मिनेटमा जेनोआका बेन्चमा रहेका गोलरक्षक फेडेरिको मार्केटिले रेफ्रीको निर्णयमा विरोध जनाउँदा रातो कार्ड पाए। युभेन्ट्सका एड्रियन राबिओटले ८७ औं मिनेटमा दोहोरो पहेंलो कार्ड पाएपछि युभेन्ट्स पनि १० खेलाडीमा सीमित भएको थियो।