पहिलो त्रैमासमा सिटिजन्स बैंकको नाफा ३५ करोड


चालू आवको पहिलो त्रैमासमा सिटिजन्स बैंक इन्टरेनसनले ३४ करोड ९१ लाख रुपियाँ नाफा कमाएको छ। गत आवको सोही अवधिको तुलनामा बैंकको नाफा १८ प्रतिशतले घटेको छ। बैंकले गत आवको सोही अवधिमा ४२ करोड ८८ लाख रुपियाँ कमाएको थियो। गत आवको तुलनामा चालू आवको पहिलो त्रैमासमा ७ करोड ९६ लाखभन्दा बढी नाफा घटेको हो।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेकाले नाफा घटेको हो। सिटिजन्स बैंक इन्टरेनसनले वाणिज्य बैंकमध्ये सबैभन्दा पहिला त्रैमासिक रिपोर्ट निकालेको छ। पहिलो त्रैमासमा बैंकको वितरणयोग्य नाफा २१ करोड रहेको छ।

गत आवको नाफाबाट शेयरधनीलाई ३ प्रतिशत बोनस शेयर वितरण गरेपछि चुक्तापँुजी ८ अर्ब ६२ करोड पुगेको छ। रिजर्भ कोषमा २ अर्ब ९५ करोड जम्मा भएको छ। त्यस्तै बैंकको प्रतिशेयर आम्दानी १६ दशमलव २०, मूल्य आम्दानी अनुपात ११ दशमलव ९८ र प्रतिशेयर नेटवर्थ १३७ दशमलव १८ रुपियाँ रहेको बैंकको वित्तीय विवरणमा उल्लेख छ।