आर्थिक सुधार वृद्धि हुँदै गएको अर्थमन्त्रीको दाबी

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

अर्थमन्त्री डा. युवराज खतिवडाले विश्व बैंकबाट बार्षिक रुपमा प्रकाशित हुने डुइङ विजनेस रिपोर्टमा नेपालले थालनी गरेको सुधारका प्रयासहरू पुरै समावेश हुन नसकेको बताउनुभएको छ। बिहीबार विश्व बैंकका १२ जना कार्यकारी निर्देशकहरूको समूहसँगको कुराकानीका क्रममा उहाँले यस्तो बताउनुभएको हो।

डुइङ विजनेस रिपोर्टमा नेपाल यो वर्ष ११०औं स्थानबाट ९४औं स्थान कायम गर्न सफल भएकोबारे कुरा गर्दै उहाँले आगामी प्रतिवेदनमा नेपालको स्थान अझ सुधार हुने विश्वास व्यक्त गर्नुभयो।

नेपाल छोटो अवधिको लोकतान्त्रिक अभ्यास भएको मुलुक भएको भन्दै विगत ३ वर्षमा औसत आर्थिक वृद्धि ६ दशमलव ५ प्रतिशतभन्दा बढी रहेको उहाँले बताउनुभयो। गत वर्ष ७ दशमलव १ प्रतिशतले आर्थिक वृद्धि भएको तथा मुद्रास्फीति ५ प्रतिशतमा कायम रहेको जानकारी दिँदै उहाँले रोजगारीका अवसर वृद्धि हुँदै गइरहेको दाबीसमेत गर्नुभयो।

थप आर्थिक वृद्धि हासिल गर्न आगामी वर्षमा बाह्य क्षेत्र सन्तुलनमा समेत सुधार हुँदै गए पनि केहि चुनौतिहरू रहेको उहाँले बताउनुभयो। विकासका पूर्वाधारहरू तयार हँुदै गरेको, शिक्षित जनशक्ति विकास हँुदै गरेको र सरकारको ऋणको अनुपात हाल कुल गार्हस्थ उत्पादनको ३० प्रतिशतमा सीमित रहेकोले गुणस्तरीय आयोजनामा थप वित्तीय स्रोत जुटाई आर्थिक तथा सामाजिक विकासको गतिलाई अझै बढाउने अवसर प्राप्त हुने बताउनुभयो।

छलफलको क्रममा प्रतिनिधिमण्डलको तर्फबाट मेक्सिकोलगायतका देशको कार्यकारी निर्देशक जर्ज जाभेज प्रेसाले छोटो समयमै संघीयता व्यवस्थापनमा नेपालले हासिल गरेको उपलब्धिको प्रशंसा गरेको अर्थमन्त्रीको सचिवालयले पठाएको विज्ञप्तिमा उल्लेख छ।