देउपुरमा सुन्तला उत्पादन दोब्बर हुने

0
Shares

दुर्गाप्रसाद शर्मा,पर्वत ।

सुन्तला उत्पादनका लागि प्रख्यात पर्वतको देउपुरमा यस बर्ष सुन्तला उत्पादन दोब्बर हुने अनुमान कृषकले गरेका छन । मोदी गाउँपालिका वडा नं. २ देउपुरमा कृषकहरुले यस बर्ष राम्रो दाना लागेका कारण सुन्तला विक्रि गरेर दोब्बर आम्दानी गर्ने अनुमान गरेका छन ।

गएको बर्ष उत्पादन कम भएपनि यस बर्ष राम्रो दाना लागेका कारण उत्पादन बढ्ने अनुमान गरिएको कृषक बाबुराम तिमिल्सिनाले बताउनुभयो । ‘यसबर्ष उत्पादन राम्रो हुने अनुमान गरेका छौ’ उहाँले भन्नुभयो ‘मल,बिउ, पानी र असिनाले पनि क्षति नपु¥याँदा गत बर्ष भन्दा दोब्बर हुन्छ होला।’

देउपुरका कृषकले तीन बर्ष अघि ३ करोड मुल्यका सुन्तला बिक्री गरेका थिए । यस बर्ष पनि उत्पादन बढेका कारण ४ करोड भन्दा बढी भित्रने अपेक्षा छ कृषकको । बाबुराम तिमिल्सिनाले पनि यस बर्ष साढे २ लाख जतिको सुन्तला बिक्री गर्ने योजना बनाएको बताउनुभयो । विगत डेढ दशकदेखि गरिएको व्यावसायिक सुन्तलाखेतीबाट यहाँका कृषकहरुको मुख्य आम्दानीको श्रोत सुन्तला बनेको छ ।

परम्परागत रुपमा कोदो र मकै लगाउने गरेका यहाँका कृषकहरुले सुन्तला खेती गरिएपछि उनीहरुको जीवनस्तरमा समेत परिवर्तन आएको छ । यहाँका एक सय ६० भन्दा बयि कृषक अन्य खेती छाडेर व्यावसायीक सुन्तला खेतीमा लागेका हुन् । साविक देउपुर गाविसमा सुन्तलाको सम्भाव्यता उच्च भएकाले विगत लामो समयदेखि सुन्तला खेतीलाई व्यावसायिक रुपमा शुरु गरेको माछापुच्छ«े सुन्तला समुहका अध्यक्ष दाताराम चापागाईले बताउनुभयो ।

शुरुमा कोदो मकै मात्र लगाएर बस्ने गरेको ठाउँमा सुन्तला लगाएपछि वार्षिक रुपमा प्रत्येक परिवारको दुई देखि पाँच लाखसम्म कमाई हुन थालेको चापागाईँको भनाई छ । ‘मकै कोदो लगाउँदा २० हजार कमाई नहुने ठाउँमा सुन्तला लगाउँदा पाँच लाख कमाई हुन्छ,’ उहाँले भन्नुभयो ‘अहिले देउपुरका सबै घरमा २ लाख भन्दा बढि कमाउने कृषकहरु छन् ।’

शुरुमा केही कृषकहरुले परिक्षणका लागि सुन्तलाको विरुवा रोपेको र राम्रो उत्पादन हुन थालेपछि गाउँभरि नै रोपिएको कृषकहरुको भनाई छ । अहिले देउपुरका अधिकांश घरमा सुन्तला रोपिएको छ ।

गाउँमा अवसर नभएको भन्दै गाउँ छाडेर गएका स्थानीयवासीहरुले जग्गा खाली राख्ने र खाली जग्गामा रुखहरु बढ्दै जाँदा समस्या आउन थालेको कृषकहरुको गुनासो छ । जग्गा भाडामा नदिने र रुख हुर्काउने गरेका कारण फलफुलका रुखरुलाई ओसेप भएका कारण समस्या आएको कृषक दाताराम चापागाईँले बताउनुभयो ।

उता मोदी गाउँपालिकाले पनि उक्त क्षेत्रमा सुन्तला खेतीको बिस्तारका लागि चालु पहल गरिरहेको छ । देउपुरकै छिमेकी देउरालीमा सुन्तलाका बिरुवा उत्पादन गर्न हाइटेक नर्सरी बनाइएको छ । वडा अध्यक्ष विकास तिमिल्सिनाले वडाका सवै ठाउँमा सुन्तला खेतीको उत्तिकै सम्भावना रहेकाले जंगल र बाझो जमिनमा समेत खेती विस्तारका लागि कृषकलाई प्रोत्साहन मुलक कार्यक्रम ल्याउने तयारी भएको बताउनुभयो । गत बर्ष मात्रै ७ हजार नयाँ बिरुवा रोपिएका छन । कृषकलाई सिंचाईका लागि पाइप, मल , निलोतुथो, चुना सहयोग गर्दै आइएको उहाँले बताउनुभयो ।