अर्बुद पीडितलाई चार लाख सहयोग

0
Shares

गलकोट। आन्द्राको अर्बुदबाट पीडित बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाका गणेश खत्रीको उपचारका लागि रु चार लाख सहयोग जुटेको छ । मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार गराइरहनुभएका खत्रीको उपचारका लागि देश तथा विदेशमा सञ्चालित सहयोग सङ्कलन अभियानबाट सो रकम जुटेको हो ।

सङ्कलित रकम हस्तान्तरण गरिएको खत्रीको उपचारमा संलग्न नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाका अध्यक्ष दिल श्रीषले जानकारी दिनुभयो । पत्रकार श्रीष, काठेखोला गाउँपालिका–३ का वडासदस्य खुम भण्डारी, युवा व्यवसायी ओम केसीलगायतले विदेशमा रहेका आफन्तमार्फत सहयोग सङ्कलन अभियान चलाउनुभएको हो ।

खत्रीको उपचारार्थ जापानबाट कलाकार सूर्य खड्कालगायतको पहलमा रु दुई लाख, कोरियाबाट मनोज थापाको पहलमा रु ९० हजार र साउदी अरबबाट चित्र भण्डारीको पहलमा रु ५० हजार सहयोग प्राप्त भएको अभियन्ता श्रीषले बताउनुभयो । भारतको सिलोङमा काम गर्दै आएका खत्रीको उपचारमा रु चार लाखभन्दा बढी खर्च भइसकेको उहाँकी श्रीमती सावित्राले बताउनुभयो । उहाँले सहयोगका लागि सबैलाई आग्रह गर्नुभएको छ ।