मराङमा घरवास शुरु

0
Shares

मुस्ताङ। मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ मराङमा सामुदायिक होमस्टे ९घरवास० शुरु भएको छ ।
गाउँमा आउने पर्यटकको सुविधाका लागि पाँच घरमा घरवास सञ्चालन भएको हो । गण्डकी प्रदेश सरकारको सहयोगमा शुरु गरिएको घरवासमा एक दिनमा तीस जना बास बस्न सक्ने क्षमता छ ।

गण्डकी प्रदेशको आन्तरिक र सङ्घीय सरकारको नेपाल भ्रमण वर्ष २०२० को कार्यक्रमलाई लक्षित गरेर घरवास शुरु गरेको घरवास व्यवस्थापन समितिका अध्यक्ष ढावासुन्टुक गुरुङले बताउनुभयो । पाहुनाको चापलाई हेरेर घरवासको सङ्ख्या बढाउँदै लैजाने योजना रहेको उहाँले बताउनुभयो ।

घरवास सञ्चालनका लागि प्रदेश सरकारले रु १० लाख सहयोग गरेको छ । सो सहयोगबाट घरको कोठा व्यवस्थापन, शौचालय, बाथरुम, बेडरुमको साजसज्जा गरिएको छ । यसमा गाउँपालिकाले पनि साझेदारी गरेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०ले सञ्चालकहरुलाई अतिथि सत्कार र खानाका परिकार तयार पार्ने तालीमसमेत दिएको बताइएको छ ।

जोमसोम–कोरला सडकअन्तर्गत चराङदेखि २० मिनेट गाडीको यात्रामा पुगिने मराङमा ४६ घरधुरीको बसोबास छ । पृथक भूगोल, नेपालकै पुरानो मानिएको ऐतिहासिक लोघेकर गुम्बा, स्थानीयवासीको जीवनशैली, संस्कृति, लाङबुछे भ्यू प्वाइन्ट, गोलाखा गुफा, ट्रेसर गुफा, ङी पेनचेन फुट प्रिन्ट र गुफा, स्याउ बगैँचा र गासे फु मराङगाउँ यहाँको आकर्षण रहेको स्थानीयवासीसमेत रहनुभएकी जिसस प्रमुख छिरिङल्हामो गुरुङले बताउनुभयो ।

फापरको रोटी, ढिडो, च्याङग्राको ताजा मासु र सुकुटी, चिसो हावापानीमा उत्पादित तरकारी र स्याउका परिकारको स्वाद लिन पाइन्छ, यहाँ । त्यस्तै घोडा चढेर गुफा र गुम्बा घुम्नका लागि पनि पर्यटक यहाँ आउने गर्छन् ।

मराङ सामुदायिक घरवासको सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले उद्घाटन गर्दै नेपाल भ्रमण वर्षलाई सफल बनाउन पर्यटकीयस्थलमा पूर्वाधार निर्माण र प्रचारप्रसारमा सरकारले जोड दिएको बताउनुभएको थियो ।