विष्फोटक पदार्थ बरामद


हेटौंडा, (नेस) ।

मकवानपुर प्रहरीले विष्फोटक पदार्थ (पटाका) बरामद गरेको छ । आलु बम १० प्याकेट, पष्किनी बम ४ प्याकेट, नागिन पटाका २ सय ५० प्याकेट, रकेट बम ६० पिस, झिरझिरे ६० पिस, कुखुरा पटाका १३ प्याकेट बरामद गरिएको हो ।हेटौंडा–१९, नेवारपानीस्थित सडकखण्डबाट ती अवैध सामग्री बरामद भएको प्रहरीले जनाएको छ ।

बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक मुकेशकुमार सिंह तथा सशस्त्र प्रहरी गण गुल्म–१४ का प्रमुख प्रहरी उपरीक्षक विकासराज घिमिरे तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षकको संयुक्त डग (कुकुर) सहित विशेष चेकिङ टोलीले पटाका बरामद गरेको थियो ।

नेवारपानीस्थित सडकखण्डमा बस, ट्रक, अटो, मोटरसाइकललगायत ४१ वटा सवारीसाधन चेक गर्दा विष्फोटक पदार्थ (पटाका) बरामद गरी इलाका प्रहरी कार्यालय नेवारपानीमा भद्रभलादमीको रोहबरमा इलाका प्रहरी कार्यालय, नेवारपानी मकवानपुरको हाताभित्र खाल्डो खनी नष्ट गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रउ सिंह तथा सशस्त्र प्रहरी प्रमुख प्रहरी उपरीक्षक घिमिरे, इलाका प्रहरी कार्यालय भीमफेदीका प्रनि रामबालक राय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट प्रनिको संयुक्त डग (कुकुर) सहितको विशेष चेकिङ टोलीले भीमफेदी–६ स्थित सडकखण्डमा बस, ट्रक, अटो, मोटरसाइकललगायतका सवारीसाधन चेक गर्दा पटाका बरामद भएको छ ।

आलु बम १ प्याकेट, पष्किनी बम १५ पिस, नागिन पटाका ७ प्याकेट, रकेट बम १० पिस, झिरझिरे ८ पिस, कुखुरा पटाका १ प्याकेट, फुलडारी ३० पिस, चक्र २५ पिस बरामद गरी स्थानीय भद्रभलादमीको रोहबरमा खाल्डो खनी नष्ट गरिएको छ ।