खरको छाना हटाउन सरकारी जस्तापाता


हेटौंडा, (नेस) ।

हेटौंडा–१९ नम्बर वडा, मनहरी, कैलाश र मकवानपुरगढी गाउँपालिकाका गरी २ सय परिवारलाई सरकारी जस्तापाता बितरण थालिएको छ ।
संघीय सरकारले चालु आर्थिक वर्षमा खरको छाना भएका स्थानमा जस्तापाता बितरण गर्ने कार्यक्रमअनुसार मकवानपुर–२ मा जस्तापाता बितरणको कार्यक्रम बनाएको छ ।

यही क्रममा हेटौंडा–१९ को पन्ध्रसोलामा खरका छाना भएका परिवारका लागि जस्तापाता बितरण गरिएको हो । संघीय सरकारको खरका छाना विस्थापित गर्ने कार्यक्रमअनुसार हेटौंडाको विकट मानिएको पन्ध्रसोला गाउँका नागरिकलाई मकवानपुर–२ का सांसद् विरोध खतिवडासहित टोलीले जस्तापाता बितरण गरेको हो ।

उक्त क्षेत्रका ५० परिवारलाई जस्तापाता बितरण गरिएको हो । खरको छाना भएका परिवारका लागि जस्तापाता बितरण गरिएको सांसद् खतिवडाले बताउनुभयो । मकवानपुरमा पहिलोपटक खरका छानालाई विस्थापन गर्दै जस्तापाता बितरण गरिएको हो ।

संघीय सरकारको बजेटबाट मकवानपुरसहित विभिन्न जिल्लामा खरको छाना विस्थापन गर्दै जस्तापाता बितरण गर्न लागिएको हो । हेटौंडाको विकट क्षेत्र पन्ध्रसोला भएकोले उपमहानगरमा आफूहरुले विशेष ध्यान दिएर काम गरेको उहाँले बताउनुभयो ।