एसेक्स घटनासँग संलग्न भएको आरोपमा थप दुई पक्राउ


लण्डन । लण्डनबाट उत्तरपूर्वमा रहेको एसेक्स इलाकामा ‘कन्टेनर’भित्र भेटिएका ३९ मृतशरीर बारेमा अनुसन्धान गर्न बेलायतको प्रहरीले थप दुई जनालाई शुक्रबार पक्राउ गरेको छ ।

घटनामा संलग्न भएको आशंकामा ३८ बर्षीय एक महिला र एक पुरुषलाई वारिङ्टन चेसायरबाट प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाउन लागेको हो ।

घटनामा सम्लग्न रहेको हुनसक्ने आरोपमा २५ बर्षीय ‘कन्टेनर’ चालकलाई भने गत बुधबार नै पक्राउ गरिसकिएको छ । उत्तरी आयरल्याण्डका नागरिक ती चालकसँग प्रहरीले अहिले पनि रहस्यमय घटनाका बारेमा बयान लिइरहेको छ ।

गत बुधबार आठ महिला र ३१ पुरुष गरी ३९ जनाको शव एउटा ‘कन्टेनर’भित्र रहेको अवस्थामा प्रहरीले भेट्टाएको थियो ।

शव चिनियाँ नागरिकको भएको हल्लापछि चिनियाँ टोली पनि अहिले बेलायत आएको अधिकारीहरूले जनाएका छन् ।

स्थानीय समयानुसार राति १ः४० मा ग्रेजस्थित वाटरग्लेड औद्योगिक क्षेत्रमा दर्जनौै शव भएको सूचना प्रहरीले पाएको थियो । शव भेटिएको लरी बुल्गेरियाबाट शनिवार बेलायत प्रवेश गरेको प्रहरीले जनाएको छ ।

यसअघि सन् २००० को जुन महिनामा पनि ५८ चिनियाँ आप्रवासीको शव बेलायतकै डोभरमा एउटा लरीको पछाडि फेला पारिएको थियो । त्यतिबेला शवसँगै दुई जना भने जीवितै भेटिएका थिए । सिन्ह्वा