प्रहरीलाई अर्को चुनौती


सुभेन्द्र दास, लहान ।

खुल्ला सीमाका कारण लागूऔषध चुनौती त प्रहरीको लागि थियो नै । आजकाल अर्को चुनौतीमा पनि थपिदै गएको घटनाक्रमले पुष्टि गर्दै छ । कानूनले वर्जित गरेको लागूऔषधहरू औषधि पसलहरूमा पाइनुले प्रहरीका लागि थप चुनौती बनेको छ । लागूऔषध कारोबारी तथा प्रयोगकर्ताहरूले विभिन्न माध्यमबाट लागूऔषध खरिद तथा बिक्री गरिरहेका छन् ।

त्यसमध्ये मेडिकल पसलबाट लागूऔषध खरिद बिक्री हुनु समाज कुन दिशातर्फ अगि बढ्दै छ भन्ने मनोविज्ञानको मन्थन पनि जरुरी हुँदै गएको छ । प्रहरीले जेठ यतामात्रै विभिन्न स्थानमा सञ्चालित मेडिकल हलबाट लागूऔषध बिक्री वितरण गरेको आधारमा सञ्चालकहरूलाई पक्राउ गरेको छ । बिक्री वितरणमा संलग्नहरूलाई नियन्त्रणमा लिएको छ । यो राम्रो सङ्केत पक्कै पनि होइन ।

स्वास्थ्य सेवा विभागमा दर्ता भई सञ्चालनमा आएका मेडिकल हलबाट यसरी लागूऔषध बिक्री हुँदै गए भोलि के होला रु हाम्रो समाज कस्तो होला रु आम प्रश्न जन्माउन थालेको छ । अझ लागूऔषध कारोबारीसँग साना हतियार पनि भेटिन थाल्नुले कतातिर सङ्केत गरिरहेको छ रु गम्भीर चिन्तन आवश्यक छ ।

लागूऔषध बिक्रीका तथा दुव्र्यसनीमा फसेको हिसाबले हेर्ने हो भने काठमाडौं पछि दोस्रो जिल्लामा पर्छ । सिरहा प्रहरीको तथ्याङ्कले पनि त्यही भन्छ । दैनिकजसो लागूऔषध प्रयोगकर्ता, कारोबारीहरू पक्राउ परिरहेका छन् । लागूऔषध अपराध जन्माउने थलो बनिरहेको छ ।

यसलाई प्रहरीले पनि स्वीकार गर्दैै आइरहेको छ । खुल्ला सिमाना मात्रै जड होइन । बेरोजगारी पनि लागूऔषध प्रयोगकर्ता र कारोबारी बढ्नुको कारक तत्व हो । सरकारले कति युवा बेरोजगार छन्, कति रोजगारीमा छन् । कुन कुन पेशा तथा अन्य कुरामा आबद्ध छन्, मिहीन ढङ्गले तथ्याङ्क राख्न जरुरी छ । उनीहरूलाई रोजगारको वातावरण तयार पार्न आवश्यक छ । रह्यो खुल्ला सीमाको कुरा । त्यसलाई सधैको लागि बन्द गर्न वा खुल्ला राख्न राज्यले गर्न सक्छ । दुई देशको सम्झौता, सन्धिलगायतमा ध्यान दिनुपर्छ । खुल्ला नाका हैन, सीमित नाकाका लागि राज्यले नै पहल गर्नुपर्छ । त्यो मात्रै समस्याको अन्तिम समाधान हो । प्रहरी त राज्यको शान्ति सुरक्षा कायम गर्ने एउटा संयन्त्र मात्रै हो । ऊ नै सर्वेसर्वा होइन । देश–देशबीचको सन्धि सम्झौता लागू गर्ने त राज्य नै हो ।

पसलहरूमा जसरी लागूऔषध भेटिरहेका छन् । त्यस्ता पसलहरूलाई सधैंका लागि बन्द गर्ने नीति राज्यसँग हुनुपर्छ । न कि केही समयपछि खोल्ने वातावरण । राज्यको कानून यस्ता विषयमा कठोर हुनुपर्छ । कानून विपरीत कार्य गर्ने गराउनेलाई सधैंका लागि त्यो पेशा तथा व्यवसाय गर्ने वातावरण सिर्जना गरिनुहुन्न । अन्यथा उनीहरूमा मनोबल बढिरहन्छ । चाँडो पैसा कमाउने ध्याउन्नमा ऊ लागिरहन्छ । जसले गर्दा समस्या समाधान हैन, झन् बढेर जानेछ । यसका निम्ति आजैबाट सरकारले कठोर कानून कार्यान्वयन गराउनेतर्फ पाइला चाल्नुपर्छ । प्रहरी त्यसको पुल मात्रै हो ।