घरघरमै पुगेर वृद्ध भत्ता बाँड्दै धन्यवाद पाउँदै



नेपाल समाचारपत्र, डोटी।

जिल्लाको पूर्वी क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिकाका वडाअध्यक्ष वीरेन्द्रबहादुर चन्दसहित वडा कार्यालयको टोलीले आफ्नो वडामा भएका सम्पूर्ण वृद्ध तथा एकल महिलालाई घरमै पुगेर वृद्ध तथा एकल महिला भत्ता वितरण गर्न थालेको छ।

उक्त वडामा रहेका वृद्ध, वृद्धा तथा एकल महिलालाई वडा कार्यालयसम्म आएर वृद्ध तथा एकल महिला भत्ता लिन गाह्रो भएको भन्ने खबर आएपछि आफूहरूले सो कदम चालेको वडाध्यक्ष वीरेन्द्रबहादुर चन्दले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘भत्ता लिन वडावासीलाई समस्या भयो भन्ने खबर पायौं र मसहित केही कर्मचारीको टोलीले अहिले घरमै गएर भत्ता वितरण गर्न थालेका छौं।’वडाअध्यक्ष चन्दले घरमै आएर वृद्ध तथा एकल महिला भत्ता दिन थालेपछि सो वडाका स्थानीय वृद्धवृद्धा तथा एकल महिला निकै खुसी भई वडाध्यक्ष चन्दलाई धन्यवादसमेत दिन थालेको स्थानीयवासी खड्क बोहराले बताउनुभयो। 

उहाँले भन्नुभयो– ‘गाउँमा असहाय जीवन जिउन बाध्य भएका महिला तथा वृद्धहरूलाई वडाध्यक्षले घरैमा गएर भत्ता दिन थाल्नुभएको छ, यो आफैमा राम्रो कार्य हो।’ वृद्धवृद्धा तथा एकल महिलालाई घरमै पुगेर रकम वितरण गरिँदा सुरक्षित हुने तथा रकमको सही सदुपयोग हुने भएकाले आफूले यस्तो कदम चालेको सो वडाअध्यक्ष चन्दले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘सम्बन्धित व्यक्तिको हातमा रकम परे सदुपयोग पनि हुने, रकम सुरक्षित पनि हुने र वृद्धवृद्धालाई दुःख पनि नहुने भएकाले हामीले घरघरमै पुगेर रकम दिन थालेका छांै।’ डोटीमा घरमै पुगेर वृद्ध भत्ताको रकम वितरण गर्ने चन्द पहिलो वडाध्यक्ष भएको स्थानीयवासी बताउँछन्।

प्रतिक्रिया दिनुहोस्